महेन्द्रनगर । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीबाइबी) ले कल बाइ पासमा संलग्न भारतीय नागरिक सहित तीन जनालाई पक्राउ गरेको छ । बुधबार पक्राउ गरिएका उनीहरुलाई अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालतमा पेश गरिएको छ ।
पक्राउ पर्नेमा भारतीय नागरिक गुल्जार अमहद(५६), दिपक सिह बोहरा(४७) र प्रविन खड्का (४०) छन् । उनीहरुमध्ये बोहरा भीमदत्त नगरपालिका १० र खड्का दोधारा चाँदनीका हुन् ।
सिआइबीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरसित समन्वय गरी बुधबार उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार अहमदलाई महेन्द्रनगर बजार गल्ली नं. ४ स्थित एभरेष्ट बैंक भएको घरबाट पक्राउ गरिएको छ । बोहरालाई जिमुवा र खड्कालाई दोधारा चाँदनीबाट पक्राउ गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले कल बाइपासमा प्रयोग हुने ल्यापटप सहित उपकरण सहित उनीहरुलाई पक्राउ गरिएको बताए ।
‘पक्राउ परेका तीनै जनालाई अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगिएको छ’ उनले भने ।
सिआइबीले उनीहरुमाथि दुर सञ्चार ऐन अनुसार अनुसन्धान अघि बढाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरुले बंगलादेश कल बाइपास गर्दै आएको देखिएको छ ।
कञ्चनपुर प्रहरीका प्रवक्ता डाँगीले अहिले तीन जना पक्राउ गरिए पनि अन्य पनि संलग्न हुन सक्ने आशंका गरे । ‘अरु पनि संलग्न छ छैनन् भन्ने कुरा अनुसन्धानबाट थाहा हुन्छ’ उनले भने ।