महेन्द्रनगर । नेपाली काँग्रेसको भीमदत्त नगर कार्य समितिले पार्टीप्रति बढेको नैराश्यता न्यूनीकरणका पार्टीका सबै निकायसित सहकार्य गरी अघि बढ्ने भएको छ । काँग्रेस पार्टी कार्यायमा आयोजित नगर सम्मेलनमा प्रस्तुत साँगठनिक प्रतिवेदनमा कार्यकर्ताको नैराश्यता हटाउन सहकार्य गर्ने प्रतिवद्धता समावेश गरिएको छ ।
नगर समितिले पार्टीका केही वडा समिति र जनप्रतिनिधिबीच मत भिन्नता समबन्ध सुधारका लागि पहल गर्ने उल्लेख गरिएको छ । भीमदत्त नगरपालिका निर्वाचित जनप्रतिनिधिसित सहकार्य गरी उनीहरुले गरेका काम टोलसम्म प्रचार प्रसार गरिने भएको छ ।
‘केही वडा समिति र निर्वाचित जनप्रतिनिधिबीच केही मत भिन्नता देखिएको गुनासो समेत आएकाले सुमधुर सम्बन्ध स्थापनाका लागि नगर समितिबाट पहल गरिने छ’ काँग्रेस नगर सचिवद्वय नितु भण्डारी भट्ट र राहुल भट्टले नगर सम्मेलनमा प्रस्तुत साँगठिनक प्रतिवदेनमा भनिएको छ,‘हाल हाम्रा कार्यकर्तामाझ पार्टीप्रति नैराश्यता देखिएकाले सो न्यूनीकरणका लागि सम्बन्धित सबै निकायसित सहकार्य गरी अगाडि बढ्नेछौ ।’
प्रतिवेदनमा पार्टीका अग्रज नेताहरुको सल्ल्लाह र निर्देशनमा नगरका सबै वडामा संगठन विस्तार गरी पार्टी बलियो बनाउने कुरामा जोड दिइएको छ।
काँग्रेस नगर सभापति अच्युत कलौनीको अध्यक्षतामा गरिएको कार्यक्रममा काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सम्मेलन उद्घाटन गरे । सम्मेलनमा काँग्रेस केन्द्रीय सदस्य नेता यज्ञराज जोशी, सुदूरपश्चिम प्रदेश सभा सदस्य मधु भारती, काँग्रेस प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ का सभापति केशब चन्द लगायतका नेताहरु सहभागी भएका छन् ।