महेन्द्रनगर । कुमारी बैंकमा धितो सकार गरी कर्जा चुक्ता गरिएका एक ऋणी कालो सूचीमा राखिएका छन् । भीमदत्त नगरपालिका ५ वनगाउँका राजु सिह खड्कालाई धितो सकार गरिएको तीन वर्षसम्म कालो सूचीमा राखिएको छ ।
खड्काले बंंैकबाट २०७४ मा ४ कट्टा जमिन धितो राखेर श्री माधव नव जीवन संजिविनी प्रा.लि.को नाममा ६ लाख ऋण लिएका थिए । खड्काले लिएको ऋण २०७७ मा १४ लाख पुगेपछि उनलाई कालो सूचीमा राखेर धितो लिलाम प्रक्रिया अघि बढाएर सकार गरिएको थियो ।
धितो सकार गरेपछि कालो सूचीबाट हटाउनु पर्ने खड्कालाई बैंकले अहिलेसम्म त्यहीं सूचीमा राखेको छ । कालो सूचीका कारण खड्का बैकिङ्ग कारोबार गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
कुमारीले धितो सकार गरेपछि अर्को बैंकबाट ऋण लिने प्रक्रिया अघि बढाएपछि उनले आफू कालो सूचीमा रहेको थाहा पाएका हुन् । एनसीसी बैंकमा ३ कट्टा जमिन धितो राखेर ४ लाख ऋण निकाल्न सबै प्रक्रिया पूरा गरी चेक काट्ने क्रममा कालो सूचीमा राखिएको थाहा भएको थियो ।
एनसीसी बैंकमा चेक काट्ने क्रममा आफूले आफू सहित जमानी सहित सबै कालो सूचीमा राखिएको थाह पाएको खड्काले बताए । ‘त्यो अघिसम्म केही थाह थिएन, एनसीसीबाट ऋण लिँदा सबै प्रक्रिया पूरा गरी चेक काट्ने क्रममा कालो सूचीमा परेको कुरा आयो’ उनले भने,‘त्यसपछि कुमारी गएर बुझ्दैछु, त्यसको कारण माग्दैछु, बैंकले धितो सकारेर कर्जा चुक्ता गरे पनि मलाई कालो सूचीमा राखेर बर्बाद गरि दिएको छ ।’
कुमारी बैंंकले कालो सूचीमा राखेको पाएपछि एनसीसीले ऋण रोकिएपछि आफ्नो कारोबार चौपट भएको खड्काले बताए ।
खड्काले जडीबुटीबाट औषधि बनाएर कारोबार गर्न बैंकबाट ऋण लिएका थिए । भीमदत्त नगरपालिकाले औषधि उत्पादनका लागि सहयोग गर्ने आश्वासन पाएपछि उनले बैकबाट ऋण लिएका थिए । सुरुदेखि आश्वासन दिएको भीमदत्त नगरपालिकाले अन्तिममा असमर्थता जनाएपछि उनी ऋण तिर्न समस्या परेको बताउँछन् ।
‘जडीबुटीबाट औषधि बनाउन भीमदत्त नगरपालिकाले सहयोगको आश्वासन दियो, सहमतिपत्र पनि दियो, त्यो सहमति पत्र बोकेर बैंकबाट जाँदा ऋण दियो’ उनले भने,‘डेढ वर्षसम्म आज भोलि भन्दा भन्दा अन्तिममा सकिदैन भनेपछि म ऋण तिर्न नसक्ने अवस्थामा पुगेको हो ।’
ऋण तिर्न नसकेपछि बैंकले भीनपा ४ र ५ का तत्कालिन सचिव, प्रशासन र प्रहरी कार्यालयका प्रतिनिधि सहित जग्गा लिलामका लागि पठाएपछि आफूले सहमति दिएको खड्काले सुनाए ।
‘बैंकले लिलाम बोल्दा कोही आएनन्, त्यसपछि बैंक आफैंले जग्गा सकारेको हो’ उनले भने,‘मेरो जग्गा त सकारेको रहेछ, तर मलाई कालो सूचीमा राखेको छ ।’
बैंकले कालो सूचीमा राखेर एनसीसी बैंकबाट ऋण लिन रोकिएको तथा आफू र जमानी बसेका परिवारका सदस्यको मान सम्मानमा आँच पुगेको बताए । ‘म मात्रै होइन, जमानी बस्ने सबैलाई कालो सूचीमा राखिएको छ, यसले हाम्रो मान सम्मानमा चोट पुगेको छ’ उनले भने ।
कुमारी बैंकका कर्मचारी कृष्ण भट्टले खड्का बैंकमा आएपछि के कसरी कालो सूचीमा राखिएको भन्ने बारे केन्द्रीय कार्यालयसित बुझ्ने प्रयास गरिएको बताए ।
‘के भएको हो भन्ने कुरा माथि बुझ्दैछौ’ उनले भने,‘त्यो बेला के भाको थियो, हामी बुझ्छौ ।’
वडा अध्यक्ष सहितलाई लगेर खड्काले मागे बैंकसित मागे कालो सूचीमा राख्ने कारण
बैंकको कालो सूचीमा राखिएका खड्का बिहीबार कारण खोज्दै जनप्रतिनिधि लगेर बैंक कार्यालय पुगेका छन् । उनले भीमदत्त नगरपालिका ५ का वडा अध्यक्ष पदमराज अवस्थीलाई बैंकमा लगेर बैंक कर्मचारीतिस कुराकानी गरेका छन् । बैंकका कर्मचारीले उनलाई कारण बुझेर जवाफ दिने बताए ।
बैंक कार्यालयबाट निस्कने बेलामा भने उनीसित कर्मचारीले दुई हजार तिरे कालो सूचीमा हटाउन नसकिने जवाफ दिएका थिए ।
बैंकका शाखा प्रबन्धक जिल्ला बाहिर भएकाले उनीहरुले बैंक ऋण शाखाका कर्मचारीलाई भेटेका थिए ।
भीमदत्त नगरपालिका ५ का वडा अध्यक्ष अवस्थीले ऋण चुक्ता गरेका ऋणीलाई कालो सूचीमा राखेर बैंकले ठूलो गल्ती गरेको बताए । ‘वहाँको जग्गा सकार गरि सकेपछि वहाँलाई कालो सूचीमा राख्नु कुनै अर्थ हुँदैन’ उनले भने,‘यसलाई बैंकले तुरुन्त सच्याउनु पर्छ ।’
बैंक विरुद्ध अदालत जाने खड्काको भनाई
कालो सूचीमा राखिएका खड्का भने बैंक विरुद्ध अदालत जाने बताउँछन् । उनले राष्ट्र बैंक गएर सबै नियम बुझेृर अदालतमा मुद्दा हाल्ने बताए । ‘यो मेरो मात्रै विषय होइन, आम जनताको विषय हो’ उनले भने,‘मलाई कालो सूचीमा राखेर मेरो मान सम्मानमा पुगाएको क्षति र अर्को बंैकबाट ऋण निकाल्न पाएको घाटाको क्षतिपूर्तिका लागि अदातल जान्छु’ उनले भने ।