महेन्द्रनगर । एसियाली बिकास बैंक (एडिबी) अनुदानको सडक कालोपत्रे निर्माण कार्य अवरुद्ध गरेका मदनचोकका २२ सटरका व्यवसायीलाई सोही ठाउँमा व्यवस्थापन गरिने भएको छ । भीमदत्त नगरपालिका ४ का वडा अध्यक्ष सुशिल कुमार भट्टको नेतृत्वमा बनेको सटर अध्ययन सम्बन्धि कार्यदलले ती व्यवसायीलाई सोही ठाउँमा व्यवस्थापन गर्ने सुझाव सहित प्रतिवेदन तयारी गरी नगरपालिकालाई बुझाएको हो ।
२२ सटरका कारण एडिबीको मदनचोकमा एडिबीको सडक निर्माण कार्य रोकिएपछि नगरपालिकाले वडा अध्यक्ष एवम् भीमदत्त नगर विकास समितिका सदस्य भट्टको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्य दलले २२ सटर हटाउनु पर्ने र ती सटरमा व्यवसाय गर्दै आएका व्यवसायीलाई सोही स्थानमा व्यवस्थापन गर्न सकिने सुझाव सहितको प्रतिवेदन नगरपालिकालाई बुझाएको छ ।
भीमदत्त नगरपालिकाले सडक विस्तारका लागि सटर खाली गर्न निर्देशन दिएपछि व्यवसायीहरुले व्यवस्थापनको माग गर्दै आएका छन् । उनीहरु संघर्ष समिति गठन गरी व्यवस्थापनका लागि एकजुट भएका छन् ।
सटर अध्ययन कार्यदलका संयोजक वडा अध्यक्ष भट्टले २२ सटर भत्काइने र त्यसमा व्यवसाय गर्दै आएका व्यवसायीलाई सोही स्थानमा व्यवस्थापन गर्न सकिने सुझाव सहित प्रतिवेदन पेश गरिएको बताए ।
‘ती सटर नभत्काएर सडक विस्तार हुन सक्दैन, त्यसैले भत्काउनै पर्ने हो, त्यसमा भएका व्यवसायीलाई पनि त्यहीं ठाउँमा व्यवस्थापन गर्न सकिने गरी प्रतिवेदनमा सुझाव दिएका छौ’ उनले भने,‘सटर भत्काएका ठाउँमा व्यवसायीका लागि सटर बनाउन सकिन्छ ।’ उनले व्यवसायीका लागि सटर बनाउने ठाउँ पुग्ने देखिएको अध्ययनका क्रममा पाइएको बताए ।
सटर पछाडि बचेको खाली भागमा सटर सारेर नयाँ बनाउँदा नयाँलाई जमिन पुग्ने वडा अध्यक्ष भट्टको भनाई छ । ‘अलि अगाडि सडक आएपछि ठाउँ पुग्दैन, पछाडि सार्न सकिन्छ’ उनले भने ।
कार्य दलले नगरपालिकामा बुझाएको प्रतिवेदन नगर समितिको बैठकमा पेश भएर आवश्यक निर्णय गरिने उनले बताए । नगर विकास समितिको निर्णय अनुसार ती २२ सटर खाली गरी सडक विस्तार कार्य सुरु गर्ने उनको भनाई छ ।
‘प्रतिवेदनको सुझाव अनुसार नगर विकास समितिमा छलफल गर्छौ, त्यस अनुसार अघि बढ्छौ, ती सटर हटाउनु नै पर्ने होृ’ उनले भने,‘समितिले के कसरी नयाँ सटर बनाउने हो भन्ने कुरा निर्णय गर्छ, त्यसका आधारमा अघि बढ्छौ ।’
मदनचोकका २२ सटर हटाउन नसकेको भन्दै भीमदत्तका मेयर पदम बोगटी चौतर्फी आलोचना परेका छन् । २२ सटरका अधिकाँश व्यवसायी मेयर बोगटी आवद्ध पार्टी काँग्रेस समर्थक भएकाले हटाउन आनाकानी गर्दै आएको उनीमाथि आरोप छ ।
भीमदत्तका अघिल्ला मेयर सुरेन्द्र विष्टको कार्यकालमा सटर खाली गर्ने प्रयास गरिएको थियो । विष्टको पालामा सटर खाली गर्न सार्वजनिक सूचना आव्हान गरिएको थियो ।
२२ सटरका कारण होटेल ओपेरा जाने बाटोसम्म बनेको सडक निर्माणको कार्य रोकिएको छ । ती सटरका कारण सडकमा खाल्डाखुल्डी बनेर आवातजावत गर्न समस्या भएपछि व्यवसायीले नगरपालिकालाई दबाव दिएका छन् ।
उनीहरुले दबावका लागि मेयर उप मेयर र वडा अध्यक्ष सहितको तस्बिर सडकमा राखेर रोपाई गरेका छन् । केही दिन अघि वडा अध्यक्षको तस्बिर लगाएर सडक आवागमन बन्द गराएका थिए ।