महेन्द्रनगर । भीमदत्त नगरपालिकाले मोटरबोट किन्ने भएको छ । भीमदत्तको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिको सिफारिशमा विपद्मा प्रयोगका लागि मोटरबोट किन्न लागिएको हो । समितिले मोटरबोट किन्ने निर्णय गरेको समितिका संयोजक प्रकाश थापाले जानकारी दिएका छन् ।
विपद्का बेला उद्धार लगायतका कार्यका लागि मोटरबोट किन्ने निर्णय गरिएको समितिका संयोजक थापाले बताए । समितिको निर्णयपछि मोटरबोट किन्न नगर सभाबाट बजेट विनियोजन गरिएको छ ।
वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका प्रमुख मनोज भट्टले मोटरबोट किन्न बजेट विनियोजन भएकाले आवश्यक प्रक्रिया पूरा गरी मोटरबोट किनिने बताए ।
भीमदत्त नगरपालिकाको महाकाली नदी तटीय क्षेत्र बर्खा याममा बाढीको उच्च जोखिममा पर्ने गरेको छ । महाकालीको बाढीबाट पीडित हुने वासिन्दालाई लक्षित गरी मोटरबोट किन्न लागिएको छ ।
महाकाली र जोगबुडा नदीको बाढीको उच्च जोखिममा पर्दै आएको दोधारा चाँदनीले मोटरबोट किनि सकेको छ ।