महेन्द्रनगर । बेदकोट नगरपालिका ४ बगुनका स्थानीय आफैैं खोला दोहन गरी विध्वंश मच्चाउन सक्रिय रुपमा लागेका छन् । बगुनका दुई दर्जन बढी ट्रयाक्टर व्यवसायीले दैनिक रुपमा खोलाबाट अवैध ढुङ्गा उत्खनन गरी बगर, सार्वजनिक र सिद्ध बैजनाथ सामुदायिक वनमा थुप्रो लगाएका छन् ।
सरकारे नदीजयन्य पदार्थ उत्खनन तथा बिक्री सम्बन्धि कानुनी व्यवस्था अनुसार असार १ गतेदेखि खोला नाला बन्द भएपछि उनीहरुले अवैध रुपमा ढुङ्गा उत्खनन गरेका छन् । स्थानीयले कार्य वर्षौदेखि गर्दै आएका छन् । स्थानीय सरकारले खोलामा ठेक्का लगाउन थालेपछि अवैध ढुङ्गा संकलन ह्वात्तै बढेको स्थानीय बताउँछन् ।
अवैध ढुङ्गा संकलनमा संलग्न स्थानीय ट्रयाक्टर व्यवसायीले जनप्रतिनिधि, प्रहरी सहित सबैलाई आफ्नो हातमा लिएका छन् । बेदकोट नगरपालिका ४ का वडा अध्यक्ष नरेन्द्र बहादुर बोहराका ट्रयाक्टर पनि खोलाबाट ढुङ्गा संकलन गर्दै आएका छन् । गत वर्ष वडा अध्यक्ष भएका बोहरा २०७१ देखि नदीजन्य पदार्थको कारोबार गर्दै आएका छन् । स्थानीय वडा अध्यक्ष बोहराले झोलुङ्ग पुल नजिक क्षेत्रमा ढुङ्गा संकलन गरेको बताउँछन् ।
खोला दोहनले किनारका वासिन्दा वस्ती विनाश हुने अवस्था आउन सक्न चिन्ताले पिरोलिएका छन् । उनीहरुले वस्ती जोगाउन अवैध उत्खनन रोक्न माग गर्दै आएका छन् । वासिन्दाको माग वेवास्ता भएर खोला किनार र सार्वजनिक तथा वन क्षेत्रमा दर्जनौ स्थानमा अवैध ढुङ्गाको थुप्रो लागेको छ ।
खोलाको अवैध दोहन नरोकिए कटान भएर वस्ती विनाश हुने स्थानीय रघुबीर भट्टले बताए । ‘यो दोहनले २ सय ५० घरधुरीको भविष्य संकटमा छ’ उनले भने,‘वस्ती जोगाउन पनि अवैध उत्खनन रोक्न आवश्यक छ ।’
जनप्रतिनिधि र प्रहरी दुबैसित पहुँच भएका स्थानीय ढुङ्गा उत्खननमा संलग्न भएकाले स्थानीय प्रतिकार गर्न नसक्ने अवस्थामा छन् । ट्रयाक्टर व्यवसायीले वडा अध्यक्ष बोहरा मार्फत अस्थायी प्रहरी चौकी दैजीसम्म बलियो बनाएका छन् ।
वडा अध्यक्ष बोहराले अस्थायी प्रहरी चौकीका प्रहरीका प्रहरी वडा अध्यक्ष बोहरासित समन्वय गरेर मात्रै खोलामा जाने गरेका छन् । खोलामा ढुङ्गा उत्खनन गर्दा उनीहरुले प्रहरी चौकी दैजी र भम्का लगायतका स्थानमा प्रहरी आए नआएको जानकारी लिन सुराकी राख्ने गरेका छन् ।
वडा अध्यक्ष बोहराले भने आफूले नदीबाट अवैध ढुङ्गा उत्खनन नगरेको दावी गरे । ‘कसैले मलाई भन्छ भने मैले कहाँ ढुङ्गा जम्मा गरेको छु, देखाई दिनु प¥यो’ उनले भने ।
खोला दोहन रोक्न सबैभन्दा बढी सक्रिय रुपमा खटिएका सामुदायिक वनका अध्यक्ष राजेन्द्र सिह भण्डारीले स्थानीयबाट अपेक्षित साथ पाउन सकेका छैनन् । राजनीतिक आस्थाका आधारमा उनी स्थानीयबाट अपेक्षित साथ पाउन असमर्थ छन् । वडामा दलीय रुपमा बलिया भएका काँग्रेस एमाले कार्यकर्ता अधिकाँश कार्यकर्ता अवैध ढुङ्गा उत्खनन संलग्न भएको स्थानीय बताउँछन् ।
अवैध ढुङ्गा नियन्त्रणका लागि वन समूहका अध्यक्ष भण्डारीले सर्वपक्षीय बैठकदेखि वडा कार्यालय, बेदकोट नगरपालिका, डिभिजन वन कार्यालय र ब्रह्मदेब सव डिभिजन कार्यालय सबैतिर गुहार गरेका छन् । केही दिन अघि उत्खनन रोक्न खोलामा पुगेका उनी लडेर घाइते हुन पुगेका छन् ।
अध्यक्ष भण्डारीले नियन्त्रणमा अपेक्षित रुपमा सफल हुन नसकेको बताए । ‘अवैध उत्खनन नियन्त्रणमा चुनौती र जोखिम त्यस्तै छन्’ उनले भने,‘अहिले पनि यसलाई रोक्न लागि परेका छौ ।’