
महेन्द्रनगर । भीमदत्त नगरपालिकाले जिम्मेवारी बाहेकको फरक काम दिएर कर्मचारीलाई वडा कार्यालयमा खटाएको छ । नगरपालिकाले सवारी चालक मोतीराम भट्ट प्रशासनिक काममा सहयोगका लागि ६ नम्बर ६ वडा कार्यालय र नगर प्रहरी जिन्ता कठायत १८ नम्बरमा कम्प्युटर सम्बन्धि कामका लागि पठाईएका छन् ।
नगरपालिकाले जिम्मेवारी दिएर पठाएपछि उनीहरु दुबै जना वडा कार्यालयमा काम गरि रहेका छन् । दुबै जना नगरपालिकाले दिएको जिम्मेवारी अनुसार वडा कार्यालयमा आएर कामकाज गर्दै आएको बताउँछन् ।
दुई महिनादेखि भीनपा ६ मा पठाइएका सवारी चालक भट्ट कार्यालयमा चिठी पत्र दर्ता चलानी लगायतका काममा सहयोग गर्दै आएका छन् ।
वडाका वासिन्दा उनी घर नजिक जिम्मेवारी दिएर आएपछि खुसी छन् । भन्छन्, ‘नगरपालिकाले जिम्मेवारी दिएर पठाएपछि आए, दर्ता चलानी लगायतका काम गरि रहेको छु, घर नजिकै भो, राम्रो भएको छ, केही समस्या छैन ।’
भीमदत्तमा २८ वर्ष अघि सवारी चालक नियुक्त उनी २०५८ मा स्थायी भएका हुन् । यस अघि नगरपालिकामा लगाततार सवारी चलाउँदै आएका उनी पहिलो पटक वडा कार्यालय गएर प्रशासनिक काममा सहयोग गर्दै आएका छन् ।
भीमदत्त नगरपालिकाका तत्कालिन मेयर सुरेन्द्र विष्टले प्रयोग गरेको म १ झ १०८ नम्बरको गाडीलाई भट्टले पाँच वर्ष लगातार चलाएका थिए । विष्टको कार्यकाल सकिएपछि वर्तमान मेयर पदम बोगटीले क्षेत्रीय सहरी विकास आयोजनाको गाडीका चालकलाई जिम्मेवारी दिएपछि उनी एक वर्ष कार्यालयमा बसेका थिए ।
उनलाई महिना अघि मात्रै वडा कार्यालयमा पठाइएको छ । भीनपा ६ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता महेन्द्र खड्काले चालक भट्टलाई कार्यालयको कामकाजमा सहयोगका लागि पठाइएको बताए ।
भीमदत्त नगरपालिका १८ ले डिजिटल वडा घोषणा गरेपछि कम्युटर सम्बन्धि जनशक्ति उपलब्ध गराउन माग गरेपछि नगरपालिका कार्यालयले नगर प्रहरी कठायतलाई पठाएको छ । चार वर्ष अघि नगर प्रहरी भएकी कठायत केही दिनदेखि वडा कार्यालयमा कम्प्यटुर सम्बन्धि कामकाज गरि रहेकी छन् ।
वडा कार्यालयमा गएपछि उनले नगर प्रहरीको पोशाक लगाउन छाडेकी छन् । कार्यालयका कर्मचारीको पोशाक लगाएर वडामा आउने गरेकी उनी कम्युटर सम्बन्धि कामकाम गर्न समस्या नभएको बताइन् ।
‘नगरपालिका जिम्मेवारी दिएर पठाएपछि आएर कामकाज गर्दैछु, त्यस्तो केही समस्या छैन’ उनले भनिन्,‘अहिले त पूराना कागजात स्केन गरी स्टोरेज गर्ने काम गरि रहेका छौ ।’
मर्निङ्ग ग्लोरीबाट विज्ञान विषयमा १२ कक्षा उत्तीर्ण कठायत सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा सूचना प्रविधि संकायमा अध्ययनरत छिन् ।
भीनपा १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटाले वडा कार्यालयले नगरपालिकाका कार्यालयमा माग गरेपछि कठायतलाई पठाएको बताए ।
‘डिजिटल वडा घोषणा भएपछि नगरपालिकामा जनशक्ति उपलब्ध गराउन माग गरेका थियौ, त्यसपछि वहाँ(कठायत)लाई पठाएको हो’ वडा अध्यक्ष देवकोटाले भने,‘नगर प्रहरी भएपनि वहाँसित कम्युटर सम्बन्धि ज्ञान छ ,बिएस्सी सिएसआइटी पढ्दै हुनु हुन्छ, कम्प्यटुरको पनि राम्रो ज्ञान छ ।’
भीनपा १८ ले चालु आर्थिक वर्षको साउन पहिलो साता वडा कार्यालयलाई डिजिटल वडा घोषणा गरेको थियो । वडा कार्यालयका सबै सेवालाई अनलाइन माध्यमबाट दिन डिजिटल घोषणा गरिएको थियो ।
भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले कार्यालयले वडा कार्यालयको आवश्यकताका आधारमा कर्मचारी पठाएको बताए । ‘वडाको आवश्यकताका आधारमा कर्मचारी पठाइएको हो’ उनले भने,‘कर्मचारीलाई कार्यालयले काम गर्न वडा कार्यालयमा पठाउन पाउँछ ।’
