
महेन्द्रनगर । नेपाल बाल संगठन कञ्चनपुरले भारतीय राजधानी नयाँ दिल्लीमा हत्या गरिएका भीमदत्त नगरपालिका १३ सोनापुर टोलका कालु रावतका नाबालक सन्तालाई सहयोग गरेको छ । संगठनले रावतको घरमा पुगेर बुधबार राहत स्वरुप खाद्यान्न सामाग्री सहयोग गरेको छ ।

संगठनका सभापति राम बहादुर बुडा, उप सभापति उमेश पाण्डेय, सचिव दिर्घराज भट्ट लगायतले सामाग्री हस्तान्तरण गरे ।
मजदुरीका लागि दिल्ली गएका रावतको दिल्लीको शालिमार गार्डन शिमापुरीमा धारिलो हतियार प्रहार गरी हत्या भएपछि उनका पाँच सन्तान बिचल्लीमा परेका छन् । उनीहरु अहिले छिमेकीले आश्रय दिएर राखेका छन् ।
रावतका धर्मपत्नि सहित उनका आफन्त रावतको दाहसंस्कारका लागि दिल्ली गएका छन् । स्थानीयले बाटो खर्च संकलन गरी उनीहरुलाई दिल्ली पठाएको हो ।
