महेन्द्रनगर । आफ्नै निर्वाचन क्षेत्रमा औद्योगिक क्षेत्रका लागि एक रुपैँया बजेट विनियोजन गर्न नसकी आलोचनामा परेका परराष्ट्र मन्त्री एनपी साउँदले औद्योगिक क्षेत्र सञ्चालनको मागपत्र बुझेर आश्वासन दिएका छन् । आम निर्वाचनमा छेला औद्योगिक क्षेत्र सञ्चालनलाई चुनावी एजेण्डा बनाएर साउँद चुनाव जितेर मन्त्री भएपछि भने औद्योगिक क्षेत्र सञ्चालनमा चुपचाप बसेका छन् ।
चालु आर्थिक वर्षको बजेट औद्योगिक क्षेत्र सञ्चालनका लागि एक रुपैँया बजेट छुट्याउन नसकेपछि उनको पार्टी नेता कार्यकर्ता पनि उनीसित असन्तुष्ट बनेका छन् । अहिले बेदकोटका मेयर भोजराज बोहरा सहितले ध्यानाकर्षण पत्र बुझाएर तस्बिर बाहिर आएपछि उनी मन्त्री साउँदप्रति फेरि आक्रोश पोख्न थालिएको छ ।
काँग्रेस सभापति शेर बहादुर देउवाको विश्वासिला भएर मन्त्री बनेका उनले छेला औद्योगिक क्षेत्र सञ्चालनलाई वर्षौदेखि वेवास्ता गर्दै आएका छन् । गत वर्ष स्थानीय तह निर्वाचनमा काँग्रेस कञ्चनपुरका पूर्व सचिव भोजराज बोहराले चुनाव जितेपछि उनी औद्योगिक क्षेत्र सञ्चालनका लागि सक्रिय भएर लागेका छन् । उनले स्थानीय तह निर्वाचनमा छेला औद्योगिक क्षेत्र सञ्चालनलाई प्रमुख चुनावी एजेण्डा बनाएका थिए ।
परराष्ट्र मन्त्री साउँदले निर्वाचन क्षेत्र नं. २ मा आफूले सडक र पुल निर्माणका लागि बजेट विनियोजन गराएको भन्दै कार्यकर्ताबाट फेसबुकबाट व्यापक प्रचारप्रसार गराएका छन् । आम निर्वाचनमा आफंैले चुनावी एजेण्डा बनाएको छेला औद्योगिक क्षेत्रका लागि भने उनी एक रुपैँया छुट्याउन असमर्थ भएका छन् ।
बेदकोट नगरपालिका २ र ३ मा निर्माा हुने औद्योगिक क्षेत्रको शिलान्यास भएर सम्पर्क कार्यालय खोलिएको छ । २०७७ मा तत्कालिन प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा औद्योगिक क्षेत्र शिलान्यास गरेका थिए ।
बेदकोटका मेयर बोहमरा सहित मन्त्री साउँद बाहेक वन तथा वातावरणमन्त्री बिरेन्द्र महतो, औद्योगिक विकास केन्द्र कम्पनीका सचिव भुषण उपाध्यायलाई पनि मागपत्र बुझाएका छन् ।
ज्ञापन पत्र बुझेपछि मन्त्री साउँद सहितका टोलीको तस्बिर सार्वजनिक भएको छ । सरकारले २०७३ मा औद्योगिक क्षेत्रको चार किल्ला कायम गरी चार सय बिगाहा जमिनमा औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो । ९ अर्बमा बन्ने औद्योगिक क्षेत्रको डिपिआर बनेर काम अघि बढेको हो ।
२२ हजारले रोजगारी पाउने अनुमान गरिएको औद्योगिक क्षेत्र सञ्चालनका लागि सम्बन्धित क्षेत्रका मन्त्री आफ्नै चुनावी प्रतिवद्धता पूरा गर्न नसक्ने अवस्थामा छन् । काँग्रेस नेताहरुका अनुसार उनी औद्योगिक क्षेत्र सञ्चालनको श्रेय एमालेलाई जाने भयले चुपचाप बसेको बताउँछन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम शिलान्यासमा लेखिएपछि मन्त्री साउँदले औद्योगिक क्षेत्र सञ्चालनलाई वेवास्ता गरेको काँग्रेस नेताहरुले बताए । ‘यसमा मन्त्री र पार्टीले श्रेय पाउने अवस्था छैन,त्यसैले मन्त्रीज्यूलाई यसको मतलब नभएको त हो’ काँग्रेसका एक नेताले भने ।
अढाई दशकअघि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको कार्यकालमा घोषणा गरिएको थियो । स्थानीयले छेला औद्योगिक क्षेत्रको माग गरेपछि तत्कालिन प्रधानमन्त्री अधिकारले घोषणा गरेका थिए । यस क्षेत्रमा केहीले औद्योगिक क्षेत्र नभएर मेडिकल कलेज पनि बनाउन माग गरेका थिए ।