ghar sansar

कञ्चनपुर कारागार अचानक बन्यो अशान्त

महेन्द्रनगर । कञ्चनपुर कारागारका एक कैदीले आफूलाई पैसा माग्दै निर्घात कुटपिट गरिएको भन्दै घर परिवारलाई खबर गरेपछि कारागार सोमबार अशान्त बनेको छ । कैदीका घर परिवार र आफन्तले कारागार बाहिर कारागार आक्रोश पोखेका छन् भने कारागाभित्रका कैदी बन्दीले बाहिरको आक्रोश विरुद्ध नाराबाजी गरेका छन् ।

लागु औषध मुद्दामा १८ महिना सजाय तोकिएका कैलालीको धनगढी उप महानगरपालिकाका २३ वर्षिय सुभाष भट्टले आइतबार घर परिवारलाई फोन गरी आफूसित नाइकेकले आफूसित पैसा मागेको र नदिएपछि निर्घात कुटपिट गरेको जानकारी गराएका थिए ।

कारागाभित्र कुटपिट गरिएको खबर पाएपछि उनका घर परिवार र आफन्त आइतबार आक्रोशित भएर कारागार पुगेका थिए । यस अघि पनि कारागारमा बसि सकेका उनले आफ्नो ज्यान खतरामा रहेको बताएपछि उनका परिवार आक्रोशित हुन पुगेका हुन् ।

‘मलाई पैसा दिएन भनेर निर्घात कुपिट गरिएको छ, मेरो ज्यान जसरी पनि जोगाउन भनेपछि घरबाट आएका हौ’ भट्टका भिनाजु तर्कराज भट्टले भने,‘कारागारभित्र यतिसम्म भएको खबरले आक्रोश त आइ हाल्छ, केही नभएपछि त नभन्नु पर्ने हो, त्यसै त किन भनेको होला र ।’

आइतबार कारागार आएर फर्किएका भट्टकी आमा, दिदी सहित आफन्त सोमबार पनि कारागार पुगेका छन् । भट्टकी आमाले कारागारको प्रवेशद्वारमा रुदैै छोरालाई भेट्न धेरै प्रयास गरिन् । सुरक्षाकर्मीले भीडभाडका कारण भित्र जान नदिएर उनलाई प्रहरीको गाडीमा राखेर प्रहरी कार्यालय ल्याइएको छ ।

कारागार प्रशासनले आमालाई प्रहरी कार्यालय ल्याएको केही समयपछि भट्टलाई उनका भिनाजुसित भेट्न दिइएको छ । उनले कुटपिट गरिएको भन्ने बित्तिक्कै केही कैदी बन्दीले उनलाई लखेटेर लगेको देखेको प्रत्यक्षदर्शीले बताए ।

‘उनले खुट्टाको चोट देखाउँदै कुटपिट गरेको हो भन्ने बित्तिक्कै लगि हाल्यो’ एक प्रत्यक्षदर्शीले भने,‘त्यहाँ केही त भएको नै रहेछ, नत्र त्यसरी नलग्नु पर्ने हो ।’

भट्ट परिवारका आफन्तले कैदीबन्दीका नाइके टेकराज जोशी र प्रकाश मल्लले आफूसित मासिक रुपमा पैसा माग्दै आएको र नदिएपछि निर्घात कुटपिट गरिएको भन्दै परिवारलाई खबर गरेको उनका भिनाजु भट्टले बताए । नाइके जोशीले भने भट्टको आरोपलाई अस्वीकार गरी गलत भएको बताए ।

कारागारका जेलर माया वस्नेत थापाले घर परिवारबाट कुटपिट गरिएको गुनासो आएपछि आफूले सोध्दा नदेखिएको बताइन् ।

‘घर परिवारलाई फोन गरेको रहेछ, मलाई कुटपिट गरेको छ, टेन्सन भएको दियो भनिएको रहेछ, त्यसपछि आएर सबैलाई बेस्सरी गाली गरे, उनले भनिन, ‘सम्झाई बुझाई गरी पठाएका हौ’ आज फेरि आएका छन्, मैले सोध्दा त कोही नि कुटपिट गरिएको होइन भन्छन् ।’

जेलर वस्नेतले भट्टको आफन्तले बाहिर गालीगलौज गरेपछि कैदीबन्दीले भित्रै नाराबाजी गरेको बताइन् । ‘बाहिर देखेर भित्र नाराबाजी भयो, अहिले शान्त भयो’ उनले भनिन् ।

कैदीबन्दीले एक अर्काबाट रकम अशुलीबारे कारागार प्रशासनमा अहिलेसम्म गुनासो नआएको बताइन् ।
कारागार निरीक्षणका क्रममा आपूmले सधै कैदी बन्दीलाई समस्या सोध्दै आएको र गुनासो भएर गोप्य रुपमा उजुरी पेटिकामा हाल्न आग्रह गरिएको बताइन् । उनले भनिन्,‘अहिलेसम्म कसैबाट गुनासो आएको छैन ।’

भट्टलाई कुटपिट गरिएको गुनासो आएपछि स्वास्थ्य जाँच गर्दा नदेखिएको कारागारका जनस्वास्थ्य निरीक्षक भानदेव जोशीले बताए ।

‘मैले चेकजाँच गर्दा केही देखेन, ब्याक बोन दुखेको भनेको थियो, पूरानो हो कि नयाँ भनेर सोध्दा पूरानो भनेपछि एक हप्ताका लागि औषधि दिएर पठाएको थिए’ उनले भने ।

६ महिना अघि फागुनमा कारागार पठाइएका भट्टलाई केही दिन अघि मात्रै जिल्ला अदालतले डेढ वर्षको कैद सजाय तोकेको थियो । अदालतबाट अझै उनको कैदीपूर्जी कारगार पुगेको छैन ।

सुरुदेखि कारागारको ब्लक ग मा राखिएका भट्टलाई केही दिन अघि नाइकले क मा ल्याएर राखेका हुन् । अनुशासित कैदी बन्दी, ज्येष्ठ नागरिक र महिला लगायतलाई ग ब्लकमा राख्ने गरिएको जेलर बस्नेत बताउँछिन् ।

कारागारभित्र कैदी बन्दी व्यवस्थापनका लागि चौकीदार, नाइके र सह नाइके गरी तीन जना कैदी बन्दीलाई जिम्मेवारी दिइएको छ । जेलर बस्नेतले आफूले गुनासोपछि उनीहरु सबैलाई सोधपुछ गरिएको बताइन् ।
कारागारका नाइके जोशीले भट्टले अन्यत्र कारागार जानका लागि आरोप लगाएर बाहिर हल्ला गरेको हुन सक्ने बताए । ‘त्यो भाई डडेल्धुरा र धनगढी कारागार जान चाहन्छ, त्यस्तै यस्तो हल्ला गरेको हो’ उनले भने ।

४ सय ४७ कैदीबन्दी भएको कारागारमा बाहिर कैदीका आफन्त र भित्र कैदी बन्दीले आक्रोश पोखेपछि केही समय अशान्त बनेको सुरक्षाकर्मीहरु बताउँछन् ।

‘एक छिन त निकै नै अशान्त भयो, यतिका कैदी बन्दीले नाराबाजी गरेपछि जे पनि अप्रिय हुन सक्ने स्थिति आयो’ कारागार सुरक्षामा खटिएका एक प्रहरीले भने,‘कैदीबन्दीलाई हात जोडेर बल्ल शान्त बनायौ ।’

जिल्ला प्रशासन कार्यालयले कैदी बन्दीको नाराबाजीपछि जिल्ला प्रहरी कार्यालयका दुई प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो । प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले समान्य विवाद देखिएपछि समस्या आएको र कारागार पूर्ण रुपमा शान्त भई सकेको बताए ।

Himal dental
सम्बन्धित
Loading...