
महेन्द्रनगर । पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारतबाट तरकारी र फलफूलको आयात रोकिएको छ । गड्डाचौकीस्थित क्षेत्रीय प्लान्ट क्वारेन्टिन कार्यालयबाट परीक्षण नभएर आयात रोकिएको हो ।
कार्यालयका निमित्त वरिष्ठ प्लान्ट क्वारिन्टन अधिकृत प्रमोद ठगुन्ना तालिमका लागि विदेश गएपछि परीक्षण हुन सकेको छैन । उनी एक महिने तालिमका लागि आइतबार पनामा गएका हुन् । ठगुन्नाको स्थानमा अन्य प्राविधिकलाई जिम्मेवारी नदिँदा ठूलो मात्रामा तरकारी र फलफूलको आयात रोकिएको हो ।
कञ्चनपुर भन्सार कार्यालयका निमित्त प्रमुख भन्सार अधिकृत तेज बहादुर रावलले प्लान्ट क्वारेन्टिनमा परीक्षण नभएपछि तरकारी आयात रोकिएको बताए । ‘प्लान्ट क्वारिन्टनको जाँच हुन नसकेर तरकारी र फलफूलका गाडी आएका छैनन्, लगभग शुन्य भन्दा पनि भयो’ निमित्त भन्सार अधिकृत रावलले भने,‘क्वारेन्टिनका हाकिमसाव विदेश जानु भयो, त्यही भएर क्वारिन्टन जाँच हुन सकेको छैन ।’
भन्सार कार्यालयका अनुसार भारतबाट दैनिक रुपमा दुई गाडी फलफूल तरकारीका आउने गरेका थिए । अहिले ती दुबै गाडीले भन्सार नाका भएर आयात गरेका छैनन् ।
भन्सार कार्यालयका निमित्त प्रमुख भन्सार अधिकृत रावलले ठूलो मात्राको आयातका लागि भन्सार प्रणाली अनुसार प्रज्ञापन पत्रमा प्रविष्ट गर्नु पर्ने भएकाले छुटपूर्जी विना सम्भव नभएको बताए ।
‘भन्सारको आसिकुडा प्रणालीसित जोडिएको छ, उता कार्यालयबाट छुटपूर्जी नआएसम्म यो सम्भव छैन’ निमित्त भन्सार प्रमुख रावलले भने,‘विभागमा जानकारी गराउँदा पनि छुटपूर्जी विना त भन्सार नाकाबाट ल्याउन सकिदैन भन्ने कुरा आयो ।’
खाद्य आयात तथा निर्यात गुणस्तर कार्यालयबाट विषादी परीक्षण गरिएको रिपोर्टका आधारमा सानो मात्रामा तरकारी र फलफूल आयात भएको भन्सार कार्यालयका निमित्त प्रमुख रावलले बताए ।
‘८÷१० किलोसम्मको सानो मात्रालाई खाद्यको विषादी परीक्षणका आधारमा संक्षिप्त प्रज्ञापन पत्रमा प्रविष्ट गरी आउन दिइएको छ’ उनले भने,‘ठूलो मात्राको आयातका लागि त प्रज्ञापन पत्रमा प्रविष्ट नै हुँदैन ।’
तरकारी र फलफूल आयात रोकिएपछि दैनिक डेढ लाख भन्सार राजश्व गुमाउन पुगेको छ । महेन्द्रनगर बजारका व्यवसायीले भन्सार नाका भएर तरकारी आयात गर्दै आएका छन् ।
गड्डाचौकी नाकाबाट आयात रोकिएर अन्य नाका भएर आउँदा बजारमा तरकारी र फलफूल दुबैको मूल्य बढेको छ ।
भन्सार कार्यालयले तरकारी आयात रोकिएपछि भन्सार विभागलाई यसबारे जानकारी गराएको छ । विभागले क्वारेन्टिनको परीक्षण विना आयात गर्न नसकिने जवाफ आएको कर्मचारीहरु बताउँन् ।
क्षेत्रीय प्लान्ट क्वारिन्टन कार्यालयका निमित्त कार्यालय प्रमुख कुल बहादुर खवासले कार्यालय प्रमुख विदेश गएपछि परीक्षण रोकिएको बताए ।
‘मन्त्रालय र विभागले प्राविधिक खटाएर परीक्षण नगर्दासम्म छुट पूर्जी दिन सकिँदैन’ उनले भने,‘अहिलेसम्म विभागमा जिम्मेवारी दिएर पठाइएको छैन ।’
गड्डाचौकीस्थित कार्यालयका प्रमुख ठगुन्ना अन्य नाकाको जिम्मेवारी भएका कारण धनगढी बस्दै आएका छन् । गड्डौचौकी सहित धनगढी र बैतडीको जुलाघाट कार्यालयका जिम्मेवारी भएकाले उनी धनगढी बस्दै आएका हुन् ।
गड्डाचौकी कार्यालयका कर्मचारीले पठाएको नमूना हेरी दिएको सुझावका आधारमा कार्यालयले छुटपूर्जी दिँदै आएको थियो ।
अहिले ती नाकाबाट पनि आयात रोकिएको कार्यालयका कर्मचारीहरु बताउँछन् । भारतकाट आउने तरकारी नेपालगञ्ज नाका भएर आउने थालेको भन्सार कार्यालयका कर्मचारीहरु बताउँछन् ।
भन्सार कार्यालयका निमित्त भन्सार प्रमुख नेपालगञ्ज नाका बाहेक आयातका लागि अन्य विकल्प नभएको बताए ।
