बर्खाले सधैं भोक निन्द्रा हराउँछ कुतियावकरमा

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका १० कुतियाकवरका नयन सिह सुनार बिहीबार दिउँसो घर नजिक गोठ बनाउँदै थिए । महाकाली नदीले जग्गा कटान गरेको ठाउँ भन्दा झण्डै एक सय मिटर टाढा उनको एक तले पक्की घर छ । महाकालीले कटान गरी घर नजिक पुग्न लागेकोमा सुनार धेरै चिन्तित छन् ।

‘पहिला त महाकाली मेरो घर भन्दा परै थियो, अहिले धेरै नजिक पुगि सकेको छ’ ४२ वर्ष टेकेका सुनारले भने,‘रात दिन डराई डराई बसि रहेका छौ, पानी परेपछि निन्द्रा नै लाग्दैन ।’

कुतियावरमै जन्मिएर हुर्किएका उनी महाकाली र जोगबुढाको निरन्तर कटानले वस्तीको अस्तित्व संकटमा पर्ने चिन्तामा छन् । त्यहीं भएर उनी वस्तीको अस्तित्व जोगाउन सबैसित हार गुहार लगाउँछन् । बिहीबार वस्तीमा पुगेका कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का साँसद रमेश लेखकसित पनि उनले त्यहीं हार गुहार दोहो¥याए । वस्तीको अस्तित्व जोगाउन छ भने पक्की तटबन्ध बनाउनु ।

साँसद लेखकले तटबन्ध बनाउने आश्वासन दिएर स्थानीयलाई कटान रोकथामका लागि जैविक तटबन्ध बनाउन सहयोग गर्ने प्रतिवद्धता गरे । महाकालीले एक महिना अघि कटान गर्न थालेपछि स्थानीयले कटान रोक्न जैविक तटबन्ध गर्दै आएका छन् ।

साँसद लेखकले गत वर्ष निर्वाचनमा आफूले यस पटक चुनाव जिते महाकाली र जोगबुडा नदीमा पाँच वर्षभित्र तटबन्ध बनाउने प्रतिवद्धता गरेका थिए । लेखकले पहिलो वर्षमा नदी नियन्त्रणका काम अघि बढाउन नसकेपछि स्थानीय चार वर्षमा पनि आशंका गर्न थालेका छन् ।

‘मलाई यस पटक जिताउनु होस, अहिले म यसै वर्ष त भन्न सक्दिन, पाँच वर्षभिध तटबन्ध बनाउँछु, चुनावमा साँसद लेखकले गरेका वाचा गर्दै स्थानीय सुनारले भने,‘अब चार वर्ष बाँकी छन्, त्यो बेलासम्म वस्ती रहन्छ कि रहन्न ।’

महाकाली नदीले कटान गरेपछि साँसद लेखक बिहीबार सुदूरपश्चिम प्रदेश सभा सदस्य सहित वस्तीमा पुगेका छन् । एक महिनादेखि भई रहेका कटान क्षेत्रमा उनी भन्दा अघि साँसद, राजनीतिक दलका नेता, कार्यकर्ता, अधिकारकर्मी पुगि सकेका छन् ।

कटान हेर्न वस्ती पुगेका सबैले कटान रोक्न र वस्तीका समस्या समाधान गर्न दिएका आश्वासन पूरा हुने दिन कुरेर बसेका छन् । वर्षौैदेखि आश्वासन पाउँदै आएका उनीहरु यस पटक पनि पूरा हुनेमा ढुक्क भने हुन सकेका छैनन् ।

‘आउँछन्, हेर्छन्, जान्छन्, सबैले पहल गर्छौ भन्छन्, कुरा केही गर्दैनन्’ स्थानीय सुनार दुखेसो पोख्छन् ।
उत्तर र पश्चिम दुबैतिर नदीले घेरिएको यो वस्तीमा ४९ घर परिवारको बसोबास छ । ६ दशक पूरानो वस्तीको दक्षिण र पूर्व दुबैतिर भारतसित सीमा जोडिएको छ ।

भारतको पिलिभित जिल्लामा पर्ने भारतीय वस्तीको नाम पनि कुतियावकर छ । दैनिक उपभोगका समान किनमेलदेखि मजदुरीसम्मका कामका लागि वासिन्दा भारतीय कुतियावरसम्म जाने गरेका छन् । केही वर्ष अघिसम्म बालबालिका पढ्नका भारतीय वस्तीमा जाने गर्थे । अहिले पढ्न त्यहाँ पठाउने कार्य रोकिएको छ ।

खेतीपाती गरी जीविका चलाउँदै आएका स्थानीय महाकाली र जोगबुडाको कटानले बेघर हुने स्थितिमा छन् । दुई वर्ष अघि बाढीले बेघर भएका स्थानीय खडक बहादुर खत्रीले यस वर्ष कटानबाट सबैभन्दा बढी जग्गा गुमाउन पुगेका छन् । स्थानीयका अनुसार खत्रीको १० बढी जमिनमा कटान गरिएको छ ।

२०७८ मा बाढीले घर बगाएपछि उनी वस्तीको अर्को ठाउँमा बस्दै आएका छन् । जोगबुडा नदीमा आएको बाढीले उनको घर बगाएको थियो ।

२०७८ मा जोगबुडामा आएको बाढी वस्तीमा पसेर नोक्सान पुगाएको थियो । वस्तीमा बाढी पसेको समयमै थाहा पाएका उनीहरुले भागेर ज्यान जोगाएका थिए ।
अहिले पनि वस्तीका वासिन्दा २०७८ को बाढी झलझली सम्झन्छन् । अहिले महाकालीले कटान गर्दा स्थानीय वस्तीमा बाढी पस्ने त्रासमा छन् ।

दुई वर्ष अघि जोगबुडाको नदी वस्तीमा बस्दा सुनार आफैंले स्थानीयलाई खबर गरेका थिए । घरको छिड्कीबाट बाहिर हेर्दा बाढी पसेको देखेका थिए ।

सुनारले राति एकाएक बाढी पसेको खबर गरेपछि अन्य स्थानीयले विश्वास गरेन । किनकी त्यस अघिसम्म कार्तिकमा बाढी आएको थिएन । त्यही भएर उनीहरुले सुनारको कुरामा विश्वास नगरी मजाक गरेको ठाने । जब उनले दोस्रो पटक मजाक नभएर सही भएको र विश्वास नभए आफैं बाहिर आएर हेर्न कर गरेपछि स्थानीय सबै झसंग भए । त्यसपछि ज्यान जोगाउन सबैले एक अर्कालाई सहयोग गर्दै भगाभाग भयो ।

‘मेरो त घरभित्रै पानी आइ सकेका थियो, बाहिर आउँदा टाउकोसम्म पुगेको थियो, त्यहीबाट निस्केर ज्यान जोगाएका थियौ’ उनी सम्झन्छन्,‘केटाकेटी आइमाई पठाएपछि हामी अरु गाउँबाट निस्केर गयौ ।’

बाढीले स्थानीयका पशु चौपाया सहित खाद्यान्न, लत्ता कपडा नोक्सान भएको थियो । बाढीबाट चौपाया जोगाउन नसकिएकाले स्थानीयले त्यसपछि गाई भैसी पाल्न छाडेका छन् ।

‘त्यो बेला एक गाई किलोमै म¥यो, त्योलाई फुकाएर लग्न सकिएन, मेरा घरमा बाख्रा मरे, अरुका गाई भैसी मरे,’ सुनारले सुनाए,‘त्यही भएर अहिले पशु चौपाया पाल्न छाडि सक्यौ ।’

बाढीले ज्यान जोगाएका उनीहरु एक सातासम्म दोधारा चाँदनीको अम्बिका माध्यमिक विद्यालय बसेर मात्रै फर्किएका थिए । दुई वर्षपछि अहिले फेरि स्थानीय बाढी वस्तीमा आउने चिन्तामा छन् ।

बर्खा लागेपछि स्थानीयले राति राम्ररी निदाउन पाएका छैनन् । उनीहरु महाकाली र जोगबुडा हेरर रात दिन बिताई रहेका छन् । उनीहरु वस्ती सुरक्षित हुने दिनको प्रतिक्षा गरी बसेका छन् । उनीहरु वस्ती जोगिए नेपाली भूमि जोगिने समेत बताउँछन् ।

आफूहरुले छाडेपछि वस्तीमा भारतीयले आँखा लगाउने चिन्ता उनीहरुमा छन् । ‘हामी छौ, यो वस्ती छ, हामीले छाडेर गयौ भने इण्डियाले यहाँ आइ हाल्छ’ सुनार भन्छन्,त्यहीं भएर सबैभन्दा पहिला तटबन्ध बनाएर वस्तीलाई सुरक्षित बनाउनु पर्छ ।’

 

ठोकरलाई ठोक्किएर कटान भएका आशंका

महाकाली नदीले एक महिनादेखि गरि रहेको कटान रोक्न जैविक तटबन्ध बनाउने कार्य गरिएको छ । स्थानीय यस पटक धेरै जमिन कटान गरिएको बताउँछन् । डेढ दर्जन परिवारको सात बिगाहा जमिन कटान गरिएको उनीहरुको भनाई छ । महाकाली नदीको गत वर्ष बनाएको तटबन्धले पानीको प्रवाह तीव्र हुँदा कटान गरिएको स्थानीय आशंका व्यक्त गर्छन् ।

महाकाली नदीमा हालेको ठोकरले प्रवाह तीव्र भएर जग्गा कटान गरिएको स्थानीय सुनार बताउँछन् । ‘नदीमा धेरै पानी नै आएको छैन, तै पनि हाम्रो जमिन कटान गरि रहेको छ’ उनी भन्छन्,‘त्यो ठोकरले हालेपछि पानीको प्रवाह तीव्र भएर कटान गरिएको छ ।

ठोकरका कारण तीव्र भएको पानीको प्रवाह फैलिएर कटान गरिएको सुनारको बुझाई छ ।

सुविधा पुगे, हट्ने बाढीको त्रास

६ दशक अघि सानो नाला तरेर कुतियाकवर पुगेका स्थानीय अहिले त्यही नाला जोगबुडा नदी भएको बताउँछन् । २०२२ मा जोगबुडाको सानो नाला तरेर उनीहरुले कुतियाकवरमा वस्ती बसेका थिए । नालाको आकार बढ्दै गएर अहिले जोगबुडा नदी भएको छ । अहिले जोगबुडा नदीमा झोलुङ्गे पुल छ । त्यही पुल भएर स्थानीय ओहोरदोहोर गर्दै आएका छन् ।

२०७४ अघि स्थानीय किस्तीबाट नदी वारपार गर्दै आएका थिए । झोलुङ्गे पुल बनेपछि स्थानीयलाई किस्तीबाट वारपार गर्ने बाध्यता हटेको छ । अहिले बाढीमा परेका स्थानीयलाई ओहोरदोहोर गर्न किस्ती प्रयोग हुँदै आएको छ । स्थानीयका दुई किस्तीमध्ये एउटा नदीले बगाएको छ ।

झोलुङ्ग पुल बनेपछि वस्तीमा विद्युत पनि पुगेको छ । ४९ घरधुरीमा ६ बाहेक अन्य सबै कच्ची घर छन् । टुकी बल्ने यो वस्तीमा केही वर्षदेखि विद्युत लाइन पुगेको हो ।अहिले सबै घरमा विद्युत बलेको छ ।

स्थानीले वर्षौदेखि पुल र विद्युतको माग गर्दै आएका थिए । वस्तीमा पुल र बत्ती पुगेपछि जनजीवन सहज भएको स्थानीय बताउँछन् । भौतिक सुविधा उपभोग गर्न पाएका उनीहरु दुबै नदीमा तटबन्ध बनाएर वस्ती सुरक्षित गर्नु पर्ने बताउँछन् ।

स्थानीय नयन सिह सुनार पुल, विद्युत आएर सुविधा पुगे पनि बाढी नियन्त्रण र रोकथाम नभएसम्म आफहरुको मन शान्त नहुने बताउँछन् । ‘पहिला भन्दा ठिक छ, अब यो बाढीको त्रास हट्नु पर्छ भन्ने हो’ उनी भन्छन् ।

यस अघि वस्तीमा भारतीय नागरिकबाट हुने असुरक्षा पनि हटेको छ । भारतीय सीमा सुरक्षा बल र नेपालको सशस्त्र प्रहरी बल दुबै सीमा भएपछि उनीहरु सुरक्षित महसुस गरेका छन् । गत वर्ष दोधारा चाँदनी १० को सुन्दरनगरमा सशस्त्र प्रहरी बलको पोष्ट राखिएको थियो । सशस्त्र प्रहरी स्थानीयले खबर गर्न साथ वस्तीमा पुग्ने गरेको उनीहरु बताउँछन् । सशस्त्र प्रहरीले वस्तीमा कुनै समस्या परे तत्काल फोन गर्न आफूहरु पुग्ने विश्वास दिलाएको छ ।

सम्बन्धित
Loading...