
महेन्द्रनगर । राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरको अधिवेशनमा भीनपा १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देबकोटामाथि आक्रमणमा संलग्न संघका चार जना कारबाहीमा परेका छन् ।
शिलापत्र अनलाइनका अनुसार उनीहरूलाई एमाले र युवा संघको सदस्य समेत नरहने गरी निष्कासित गरिएको हो । आज प्रेस वक्तव्य जारी गर्दै संघका महासचिव सुमन पुरीले झगडा गर्नेहरूलाई कारबाही गरिएको जानकारी दिए ।
संघका केन्द्रीय सदस्य केशव चन्द, प्रवीन बोगटी, रोहित कुँवर र नवीन चन्दलाई पार्टी र संघको सदस्य नरहने गरी निष्कासित गरिएको संघका प्रवक्ता निरोज पौडेलले बताएका छन् ।
राष्ट्रिय युवा संघले कुटपिटलाई साङ्घातिक र बर्बर आक्रमणको संज्ञा दिँदै आक्रमणमा संलग्नलाई कानुनबमोजिम कारबाही गर्न प्रशासनलाई आग्रह पनि गरेको छ ।
निर्वाचन कार्यतालिका टाँस गर्ने क्रममा भीमदत्त नगरपालिका–१८ का वडाध्यक्षसमेत रहेका पार्टी जिल्ला कमिटी सदस्य रविन्द्रप्रसाद देवकोटामाथि कुटपिट भएको थियो । घाइते देवकोटाको काठमाडौंमा उपचार भइरहेको छ ।
