महेन्द्रनगर । नेकपा एमालेले कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का निवर्तमान साँसद डा. दिपक प्रकाश भट्टलाई विभागीय जिम्मेवारीबाट विदा गरेको छ ।
एमालेले गत वर्ष अर्थ योजना आयोजको सचिव बनाएका उनी विभागमा विदा गरिएका छन् । एमाले डा. भट्टसंगै सोभियत ढकाललाई बिदा गरेको छ भने केन्द्रीय कमिटी सदस्यबाट केशव स्थापित र प्रमोदनारायण यादवलाई हटाएको छ ।
निवर्तमान साँसद भट्टलाई एमालेमा जिम्मेवारी नदिएको भन्दै नेता कार्यकर्ताले गुनासो गर्दै आएका छन् । तत्कालिन एमालेको माधव कुमार नेपाल समूहका उनी पार्टी विभाजनलाई साथ नदिएर एमालेमै बसेका थिए । त्यसपछि पार्टी संगठित सदस्यको हैसियत बसेका उनलाई विभागीय जिम्मेवारी दिइएको थियो ।
एमालेले नेता गुरुप्रसाद बराललाई केन्द्रीय कार्यालयको व्यवस्थापनमा रहेको बागमती प्रदेशको रिक्त इन्चार्जको जिम्मेवारी दिएको छ ।
विद्यासुन्दर शाक्यलाई तारकेश्वर नगरपालिका र टोखा नगरपालिकाको इन्चार्ज बनाएको छ भने नेता झपटबहादुर बोहरा सामाजिक सेवा विभागको प्रमुख बनेका छन् । त्यस्तै कर्णाली प्रदेश कमिटीका सचिव कमल शाहीलाई प्रदेश कमिटीको सिफारिसमा जिम्मेवारीबाट हटाएको एमालेले शाहीको ठाउँमा टेकराज पछाईलाई मनोनयन गरेको छ ।
असार ३० र साउन २९ गते बसेको एमाले सचिवालय बैठकका निर्णय समेटेर अध्यक्ष ओलीले शुक्रबार जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि ८) मा विभागका केही नेताहरुको जिम्मेवारी हेरफेरदेखि प्रदेश अधिवेशन शुल्क तोकेको उल्लेख छ । एमालेले यसअघि अधिवेशनका क्रममा अभ्यासमा रहेको शुल्क प्रतिकुल रहेको भन्दै अधिकतम ५ सय रुपैयाँ तोकेको जनाएको छ ।