
महेन्द्रनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व उपाध्यक्ष भीम रावलबीच भएको भेटघाट दुई नेताबीच सम्बन्ध सुधारको संकेत देखिएपछि सुदूरपश्चिममा दुई गुट रनभुल्लमा परेका छन् । अध्यक्ष ओलीले रावललाई पार्टीमा सक्रिय गराएर जिम्मेवारी दिए उनी पक्षीय नेताले अर्को गुट बनाउन सम्भावना देखिएको छ ।
रावल पार्टीमा जिम्मेवारी विहीन भएपछि उनी पक्षीय नेताहरु अहिलेको लेखराज भट्ट दामोदर भण्डारी तथा कर्ण थापा गुटमा विभाजन भएर पार्टी राजनीति गरि रहेका छन् । भीम रावलले जिम्मेवारी पाएपछि यी दुबै गुटका रावल पक्षीय नेताहरु रावल नेतृत्वको समूहमा जान सक्ने आशंका दुबै गुटलाई परेको छ ।
‘वहाँ सक्रिय वहाँको पक्षका नेताहरु स्वभाविक रुपमा एक ठाउँमा आई हाल्नु हुन्छ’ एमालेका एक केन्द्रीय नेताले भने,‘यो त पार्टीभित्र स्वभाविक रुपमा भई रहने कुरा हो, स्वार्थी समूहले यसलाई प्रयोग गरि हाल्छन् नि ।’
एमाले विभाजनपछि सुदूरपश्चिममा कमजोर हुँदै पार्टी जिम्मेवारी विहीन भएका रावललाई गत मंगलबार अध्यक्ष ओलीले भेटघाट गरेका थिए । उनीहरु दुबै जनाबीच भएको सौहार्दपूर्ण भेटघाटले ओली रावललाई पार्टी जिम्मेवारीमा सक्रिय गराउन लागेका एमाले नेताहरुको आशंका छ ।
एमाले नेताहरुले रावललाई स्थायी कमिटी सदस्य बनाउन सक्ने बताउँछन् । अध्यक्ष ओलीले रावललाई स्थायी कमिटी सदस्य बनाएर सुदूरपश्चिमा पार्टी बलियो बनाउने मनसाय राखेका छन् । त्यसै अनुसार ओलीले रावलतिस भेटघाट गरी वर्ष दिनदेखि बिग्रिएको सम्बन्ध सुधार गर्न खोजेका हुन् ।
एमालेको १० औं महाधिवेशनमा अध्यक्ष ओली विरुद्ध उम्मेदवारी दिएपछि बढेको दुई जनाबीचको तिक्तता गत वर्ष आम निर्वाचनपछि झन बढेको थियो ।
१० औैं महाधिवेशनमा अध्यक्ष ओलीको सर्वसम्मत अध्यक्ष हुने चाहनामा रावल बाधक भएपछि ओली उनीसित क्रद्ध भएका थिए । त्यसपछि उनले अछामबाट सर्वसम्मत सिफारिश भएका रावललाई टिकट नदिएर चुनाव लड्न रोकि दिएका थिए ।
एमालेभित्र ओलीका सदावहार आलोचकका रुपमा चिनिने रावल त्यसपछि पार्टीमा निक्रिय भएर बसेका थिए । उनले केही महिना अघि महेन्द्रनगरमा एमाले र समाजवादीका नेताहरुसित छलफल गरी नयाँ शिराबाट राजनीतिमा सक्रिय हुने सन्देश दिएका थिए ।
ओलीसित भएको भेटघाट सम्बन्धि जानकारी दिए पनि रावलले जिम्मेवारी सम्बन्धि सोधिएको प्रश्नमा प्रतिक्रिया नदिई मौन बसेका थिए ।
उनले भनेका थिए, ‘हाम्रो बीचमा भेट नभएको धेरै भएको थियो । आज एक अर्कासँग भलाकुसारी, के छ कस्तो छ भन्ने भलाकुसारी गरियो, उनले भने ओलीसँगको भेटमा देश र पार्टीको अवस्थाका विषयमा कुराकानी भयो ।
देशको स्थिति पार्टीको अवस्था के छ ? कस्तो छ ? यसमा हाम्रा आफ्नो सोच दृष्टिकोण के छन् त्यसमा सामान्य कुराकानी भयो । फेरि कुराकानी गर्ने कुरा छ रावलले भने, उहाँ पार्टीको अध्यक्ष, पार्टीको अध्यक्षसँग धेरै देश विदेशको विषयमा जानकारी हुन्छ सूचना हुन्छ । म पनि अध्ययन गर्ने मान्छे । आफ्ना विचारहरू, अहिलेको अवस्था के छ कस्तो छ भन्ने भयो । फेरि कुराकानी गर्ने कुरा छ ।’
गत वर्ष संसदीय निर्वाचनपछि एमालेले देशभर चलाएको ग्रास रुट मिसनमा सुदूरपश्चिमबाट चुनाव हार्ने कारणमा भीम रावलको निष्क्रियता पनि प्रमुख कारणका रुपमा आएपछि ओली उनीसित लचकता देखाउन थालेका थिए ।
ग्रास रुट मिसनका क्रममा अछाममा उपाध्यक्ष विष्णु पौडेल सहभागी कार्यक्रममा रावल समर्थक कार्यकर्ताले नाराबाजी गरेका थिए । त्यसपछि अध्यक्ष ओलीले रावलसित वार्ता गर्न पौडेलको नेतृृत्वमा समिति बनाएका थिए । समितिले रावलसित छलफल गरे पनि उनीसित भएको सहमति अहिलेसम्म बाहिर आएको छैन ।
एमालेले संसदीय निर्वाचनमा गुमाएको साखलाई फर्काउन ओली रावलसित सम्बन्ध सुधारको दिशामा अघि बढेको नेताहरुको बुझाई छ । निर्वाचनपछि अध्यक्ष ओलीलाई सुदूरपश्चिममा रावलका कारण चुनावी नतिजा अनपेक्षित आएको रिपोर्टिङ्ग भएको थियो ।
संसदीय निर्वाचनमा एमाले सुदूरपश्चिममा प्रतिनिधि सभा २ र प्रदेश सभा ३ सीट मात्रै जितेको थियो । सुदूरपश्चिममा बलियो पकड भएका रावल एमालेमा सक्रिय भएर पार्टी विभाजनपछि समाजवादी भएका अधिकाँश नेता कार्यकर्ता फिर्ता हुने आश ओलीलाई छ । भीम रावललाई पार्टीमा सक्रिय गराए अहिले पनि समाजवादीका केही प्रतिनिधि सभा र प्रदेश सभा साँसद एमालेमा आउने रिपोर्टिङ्ग अध्यक्ष ओलीलाई गरिएको छ ।
सुदूरपश्चिममा एमालेभित्र तत्कालिन माधव नेपाल समूह बलियो थियो । यो समूहको नेतृत्वले रावलले गर्दै आएका थिए । एमाले विभाजनपछि यो समूह छिन्नभिन्न हुन पुगेको छ । रावल सहितका केही नेता एमालेमै बसे पनि अधिकाँश पार्टी छाडेर नेकपा एकीकृत समाजवादी पुगेका छन् ।
अहिले रावल पक्षका अधिकाँश नेता लेखराज दामोदर समूहमा छन् । रावलले पार्टी सक्रिय भएपछि अर्को नयाँ समूह बनेर लेखराज दामोदर समूहलाई झट्का लाग्न सक्ने अवस्था आउने कतिपय नेताहरुको आशंका छ ।
‘स्वार्थी समूह बन्न सक्छ, त्यसले अहिलेका कुनै न कुनै समूहलाई असर त गरि हाल्छ’ एमालेका एक नेताले भने,‘तर पनि वहाँ आए पार्टी बलियो हुन्छ, पार्टीलाई फाइदा हुन्छ ।’
