
महेन्द्रनगर । गड्डाचौकी नाका भएर पहिलो पटक साउन महिनामा बन्दोगोभी निर्यात भएको छ । यस अघि भारतबाट सबै तरकारी आयात हुँदै आएकोमा साउनमा एक बन्दागोभी निर्यात गरिएको हो ।
गड्डौचाकीस्थित कञ्चनपुर भन्सार कार्यालयका अनुसार साउनमा एक हजार पाँच सय किलो बन्दागोभी भारत निर्यात भएको छ । भारतीय व्यवसायीले नेपालबाट बन्दागोभी भारत लगेका छन् ।
भन्सार कार्यालयका भन्सार अधिकृत तेज बहादुर रावलले साउनमा तरकारीको रुपमा बन्दागोभी भारत निर्यात भएको बताए । ‘शायद यो पहिलो पटक हुन सक्छ, साउनमा बन्दाभोगी भारत निर्यात गरिएको छ’ उनले भने,‘यस अघि निर्यात भएको रेकर्ड छैन ।’
भन्सार कार्यालयका अधिकृत रावल यस अघि आर्थिक वर्ष २०७६÷०७७ मा भन्सारका नायब सुब्बा पदमा बसेका थिए । त्यसपछि अन्यत्र सरुवा भएका उनी अधिकृतमा बढुवा भएपछि फेरि भन्सारमा आएका हुन् ।
‘पहिले र अहिले बस्दा अहिले मात्रै बन्दागोभी भारत निकासी भएको देखे’ उनले भने ।
भन्सार नाका भएर दैनिक भारतबाट तरकारी र फलफूल आयात हुँदै आएको छ । भारतले प्रतिबन्ध फुकुवा गरे पनि गड्डाचौकी नाका भएर अहिलेसम्म गोलभेडा निर्यात भएको छैन । ‘गोलभेडा गएको छैन, कोही भारतीय व्यवसायी पनि सम्पर्कमा आएका छैनन्’ भन्सार अधिकृत रावलले भने ।
गड्डाचौकी नाका भएर भारतबाट आउने तरकारी र फलफूलको आयात भने ठप्प हुन पुगेको छ । गड्डाचौकीस्थित प्लान्ट क्वारेन्टिन कार्यालयका प्रमुख तालिमका लागि विदेश गएपछि परीक्षण नभएर आयात ठप्प हुन पुगेको हुन पुृगेको छ ।
भन्सार कार्यालयका अनुसार गडडौचौकी नाका भएर दैनिक दुई गाडी तरकारी र फलफूल आयात हुने गरेको थियो ।
