सिद्धनाथ माविका लेखापाललाई नियन्त्रणमा लिएर हत्केडी लगाएपछि कुटपिट गरिएको खुलासा, प्रहरी मौन बसेकोमा विद्यालयको आपत्ति

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयका लेखापाल विरेन्द्र राज जोशीलाई प्रहरीले नियन्त्रणमा लिएर हत्केडी लगाएपछि निर्घात कुटपिट गरिएको खुलेको छ ।

विद्यालयकी छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेपछि आइतबार जोशीलाई विद्यालयबाट नियन्त्रण लिएपछि एक समूहले विद्यालयभित्र प्रवेश गरी कुटपिट गरेको थियो ।

कुटपिटबाट घाइते जोशीको धनगढीस्थित निसर्ग अस्पतालमा आइसियुमा राखेर उपचार भई रहेको छ । जोशीलाई आइतबार साँझ धनगढी लगिएको थियो । विद्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा विद्यालयसित सरोकार नभएको समूहले ढुङ्गामुढा र हेल्मेट सहितले जोशीलाई लखेटेर कुटपिट गरेको उल्लेख गरिएको छ । विद्यालयले कुटपिटमा संलग्नमाथि कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ ।

विद्यालयले प्रहरी नियन्त्रणमा कुटपिट हुँदा पनि प्रहरी मौन बसेकोमा आपत्ति जनाएको छ । विद्यालयले दुबै पक्षसित छलफल भएर सहमति भएको घट्नालाई सुनियोजित रुपमा चरित्र हत्या गरी विद्यालयभित्र हुलदङ्गा गरी लेखापाल जोशीमाथि निर्घात कुटपिट गरिएकोमा दुःख व्यक्त गरेको छ ।

लेखापाल कुटपिटपछि पठनपाठनको वातावरण नभएको भन्दै विद्यालय बन्द गरिएको छ । घाइते जोशीका परिवारले कुटपिटमा संलग्न विरुद्ध कर्तव्य जान उद्योगमा मुद्दा दायर गर्ने तयारी गरेको उनका आफन्तले बताएका छन् ।

सम्बन्धित
Loading...