महेन्द्रनगर । बैतडीको मेलौली नगरपालिका–२ दुर्गास्थानसित केदारेश्वर माध्यमिक विद्यालयमा क्याम्पस सञ्चालनका शनिबार सात लाख बढी सहयोग संकलन भएको छ । विद्यालयले क्याम्पस सञ्चालनका लागि छलफल गर्न शनिबार सर्वपक्षीय भेला गरेको थियो ।
डेढ सय जना सहभागी पहिलो दिनको उक्त भेलाबाट ७ लाख ५९ हजार ८ सय ५१ सहयोग भएको विद्यालयका प्रद्यानाध्यापक लक्ष्मण बागले बताए । भेलामा सहभागी क्याम्पस सञ्चालनका लागि सकारात्मक देखिएको उनको भनाई छ ।
भेलामा मेलौली नगरपालिकाका नगर प्रमुख भीम बहादुर चन्द, मेलौली २ का वडा अध्यक्ष कृष्ण दत्त भट्ट, मेलौली ३ का वडा अध्यक्ष गगन सिंह भाट, दशरथचन्द नगरपालिका ७ का वडा अध्यक्ष हरिदत्त बडु, पाटन ५ का वडा अध्यक्ष फुनि सिंह बोहरा लगायत सहभागी भएका छन् ।
सहभागी जनप्रतिनिधिमध्ये दशरथ चन्दनगरपालिका ७ का वडा अध्यक्ष बडु विद्यालयका पूर्व विद्यार्थी हुन् । भेलामा मेलौलीका मेयर चन्दले क्याम्पसको आवश्यकता रहेको भन्दै नगरपालिकाबाट सक्दो सहयोग गरिने प्रतिवद्धता जनाए ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले भदौ १ गते सम्बन्धनका लागि सार्वजनिक सूचना आव्हान गरेपछि दुर्गास्थानमा क्याम्पस सञ्चालनका लागि पहल अघि बढेको हो । त्यसका लागि मेलौली सहित पाटन र दशरथ नगरपालिकाका जनप्रतिनिधि पनि सकारात्मक देखिएका छन् ।
विश्वविद्यालयमा सम्बन्धनका लागि कुनै एक कार्यक्रमका लागि १५ लाख धरौटी राख्नु पर्ने व्यवस्था छ । त्यस बाहेक शिक्षकको सुनिश्चितता, भौतिक पूर्वाधारको उपलब्धता, सुपरिवेक्षक खर्च लगायतका प्रक्रिया पु¥याउनु पर्ने नियम छ ।
दशरथचन्द नगरपालिका ७ सुर्कालका वासिन्दा पूर्व प्रशासक भानदेब बडुले दुर्गास्थानमा क्याम्पस सञ्चालनका लागि थालिएको पहल सकारात्मक भएको बताए ।
‘दुर्गास्थान त्यस क्षेत्रको प्रतिष्ठित र पूरानो विद्यालय हो, क्याम्पस एकदम आवश्यक छ’ उनले भने,‘अहिलेको पहल क्याम्पस सञ्चालन गर्नेसम्म पुगोस ।’