
महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट सरुवा भएर प्रहरी निरीक्षक सीताराम विष्ट फेरि विवादमा तानिएका छन् । प्रहरी प्रधान कार्यालयले डोटी सरुवा गरेका विष्ट रमाना लिन अघि विवादमा मुछिएका छन् ।
जिमुवाको सिद्धनाथ माध्यमिक विद्यालयका लेखापाल विरेन्द्र जोशीमाथि भएको कुटपिट घट्नामा प्रहरी निरीक्षक विष्टलाई कारवाही गर्न माग उठेको छ । भदौ ३ गते विष्ट नेतृत्वको प्रहरी टोलीले हत्केडी लगाएर जोशीलाई नियन्त्रणमा लिएपछि निर्घात कुटपिट गरिएको थियो ।
विद्यालयमा कक्षा १० मा अध्ययनरत एक छात्राले लेखापाल जोशीमाथि यौन दुव्र्यवहारको आरोप लगाएपछि ती छात्राका आफन्त जोशीलाई कारवाहीको माग गर्दै विद्यालय पुगेका थिए । छात्राका आफन्तको भीड बढेर असहज अवस्था आउन लागेपछि विष्ट नेतृत्वको प्रहरी टोली परिचालन गरिएको थियो ।
प्रहरी निरीक्षक विष्ट नेतृत्वको टोलीले लेखापाल जोशीलाई कार्यकक्षबाट हत्केडी लगाएर नियन्त्रणमा लिएको थियो । हत्केडी लगाएर कार्यकक्ष बाहिर ल्याएपछि जोशीमाथि प्रहरी नियन्त्रणमा कुटपिट भएको थियो ।
प्रत्यक्षदर्शीका अनुसार विद्यालय बाहिर झण्डै तीन सय मिटर टाढा राखिएको प्रहरी भ्यानसम्म पुगाउन उनीमाथि कुटपिट भएको थियो । जोशीमाथि कुटिपट हुँदा प्रहरी मौन बसेको स्थानीयको भनार्इृ छ ।
कुटपिटबाट गम्भीर घाइते जोशीलाई गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय ल्याएपछि सोही दिन उपचारका लागि धनगढी रिफर गरिएको थियो । सघन उपचार कक्षबाट बाहिर राखिएका जोशीको स्वास्थ्य अवस्था सुधार नभएकाले काठमाडौं रिफर गर्ने तयारी भएको आफन्तले बताए ।
प्रहरी नियन्त्रणमा कुटपिट भएपछि विद्यालयले विज्ञप्ति प्रकाशित गरी प्रहरीमाथि छानबिनको माग गरेको थियो । विद्यालयले हत्केडी लगाएर नियन्त्रणमा लिइ सकेपछि प्रहरीको लापरवाहीले कुटपिट गरिएकोमा विज्ञप्ति निकालेर आक्रोश पोखेको थियो ।
प्रहरी निरीक्षक विष्टलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश विष्टले बाहिरी भीडले अप्ठेरो गर्न सक्ने भएकाले विद्यालय पछाडिबाट लैजान अनुरोध गरेका थिए । प्रहरी निरीक्षक विष्टले अध्यक्ष विष्टको आग्रहलाई वास्ता नगरी हत्केडी लगाएर भीडबाट बाहिर ल्याउन खोजेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्टले आफूले भीड भएकाले कार्यालय पछाडिबाट लैजान आग्रह गरे पनि प्रहरीले वास्ता नगरेको बताए । ‘धेरै पटक भने, वास्ता नगरेपछि यस्तो भयो’ उनले भने ।
शिक्षक जोशी कुटपिटको घट्नालाई लिएर जिल्लाभर शिक्षक आन्दोलित भएका छन् । सामुदायिक र संस्थागत दुबै विद्यालयका शिक्षक संगठन संयुक्त रुपमा सबै श्क्षिण संस्था बन्द गराएका छन् । शिक्षक संगठनहरुले प्रहरी निरीक्षक विष्टमाथि पनि छानबिन गरी कारवाही गर्न पर्ने माग अघि सारेका छन् ।
नेपाल शिक्षक महासंघ जिल्ला स्तरिय आन्दोलन परिचालन समितिका सयोजक बिरेन्द्र भण्डारीले विद्यालय हाताभित्र प्रहरी आएर हतकडी लगाउने, हत्कडी लगाएपनि कुटपिट गर्न दिएकोले बाध्य भएर आन्दोलनमा उत्रिएको बताए ।
उनले शिक्षक जोशीमाथि ३ भदौँमा भएको कुटपिट घटनाको न्यायिक छानबिन गर्न उच्च स्तरिय छानबिन समिति गठन गर्नु पर्ने, कुटपिटमा संलग्न सबैलाई पक्राउ गरी कार्बाही गर्नुपर्ने, घाईते शिक्षक जोशीको उपचार राज्यले गर्नु पर्ने घटनामा संलग्न भएका प्रहरी निरीक्षक सिताराम विष्ट सहितका प्रहरीमाथि कार्बाहीको माग अघि सारेर आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ ।
शिक्षक संगठनले प्रहरी निरीक्षक विष्टमाथि कारवाहीको माग गरेपछि अहिले उनी फेरि विवादमा फसेका छन् । यस अघि उनी केही महिना अघि सुकासलाबाट पत्रकारलाई नियन्त्रणमा लिएपछि विभागीय कारवाही गरिएको थियो ।
भारतीय सीमावर्ती सहर वनबासामा साइकल केयरिङ्ग गर्ने महिला र प्रहरीबीच भएको झडपको भिडियो खिच्ने क्रममा पत्रकारमाथि दुव्र्यवहार गर्दै नियन्त्रणमा लिइएको थियो । प्रहरी निरीक्षक विष्टले पत्रकार राजेन्द्र नाथलाई गाडीमा राखेपछि को हो पत्रकार भनेर हत्केडी लगाएका थिए ।
नेपाल पत्रकार महासंघ कञ्चनपुरले प्रहरी विरुद्ध आन्दोलन घोषणा गरेपछि विष्ट सहितलाई विभागीय कारवाही गरिएको थियो । अहिले फेरि शिक्षक संगठनहरुले विष्टमाथि कारवाहीको माग अघि सारेका छन् ।
शिक्षक संगठनले प्रहरी निरीक्षक विष्टमाथि कारवाहीलाई प्रमुख रुपमा उठाएपछि उनी विवादमा फस्ने सम्भावना धेरै भएको प्रहरी अधिकारी बताउँछन् ।
‘सरुवा भएर रमाना लिने बेलामा झमेलामा परियो,यसले गाह्रो पर्न सक्छ’ जिल्ला प्रहरी कार्यालयका एक अधिकारीले भने ।
प्रहरी निरीक्षक विष्ट भीमदत्त नगरपालिका ३ तिलकपुरका वासिन्दा हुन् । आफ्नै गृह नगरमा पटक पटक विवादित हुन पुगेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले भने केही दिन अघि प्रहरीको सुरक्षाको कारण शिक्षक जोशीको ज्यान जोगिएको बताएका थिए ।
