
महेन्द्रनगर । अनिश्चकालिन शिक्षण संस्था बन्द गरी आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघले विदाका दिन कक्षा सञ्चालन गर्ने प्रतिवद्धता सार्वजनिक गरी आन्दोलनलाई निरन्तरता दिने भएको छ ।
महासंघले सोमबार जिल्ला प्रशासन कार्यालयको प्रवेशद्वारमा दिएको पाँच घण्टे धर्नाको माग अनुसार प्रमुख जिल्ला अधिकारीले माग सुनुवाईमा चासो नदेखाएको भन्दै आन्दोलन कार्यक्रमलाई निरन्तरता दिएको हो ।

भीमदत्त नगरपालिका १० जिमुवाको सिद्धनाथ माध्यमिक विद्यालयका लेखापाल विरेन्द्र जोशीलाई भदौ ३ गते विद्यालयमा निर्घात कुटपिट गरिएको घट्नामा संलग्न र पक्राउ गर्ने प्रहरीमाथि छानबिन गरी कारवाहीको माग गर्दै शिक्षक महासंघ अनिश्चितकाल विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएको छ । यस महासंघले जोशीमाथि कुटपिट भएपछि संलग्नलाई कारवाहीको माग गर्दै भीमदत्त नगरपालिका, शिक्षा विकास तथा समन्वय इकाई र प्रशासन कार्यालयमा माग पत्र बुझाएको थियो ।
प्रशासन कार्यालयलाई बुझाएको माग अनुसार कारवाही नभएपछि सोमबार महेन्द्रनगर बजार क्षेत्रमा जुलुश प्रदर्शन गरी शिक्षक महासंघको अगुवाईमा दिउँसोसम्म धर्ना दिइएको हो ।
शिक्षक महासंघले सोमबार साँझ विज्ञप्ति सार्वजनिक गरी प्रमुख जिल्ला अधिकारीले आफ्ना माग सम्बोधनका लागि चासो नदेखाएकाले आन्दोलन जारी राख्ने जानकारी दिएको हो ।
शिक्षक महासंघ आवद्ध सामुदायिक र संस्थागत विद्यालयका शिक्षक संगठनका प्रतिनिधिले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ,‘यसरी लगातार विद्यालय बन्दका कारणले सम्पूर्ण विद्यार्थी एवम् अभिभावकहरुमा पर्न गएको असुविधाप्रति जिल्ला स्तरीय आन्दोलन परिचालन समिति कञ्चनपुर क्षमा याचना गर्दै हामी विदाका दिनहरुमा कक्षा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्दै श्री विरेन्द्र प्रसाद जोशी सरको न्यायका लागि अविचलित भई विद्यालय बन्दको कार्यक्रममा मिति २०८० भदौ १२ गते ठिक ११ बजे भृकुटी माध्यमिक विद्यालय महेन्द्रनगरमा सहभागी ऐक्यवद्धता जनाई सहयोग गरि दिन हुन अनुरोध गरिन्छ’ विज्ञप्तिमा भनिएको छ ।
प्रशासन कार्यालय अगाडि धर्नाका क्रममा शिक्षक संगठनका नेताहरुले प्रमुख प्रशासन कार्यालयले आफ्नो मागबारे चासो नदेखाएकोमा असन्तुष्टि पोखेका थिए ।
नेपाल शिक्षक संघ सुदूरपश्चिम प्रदेश समितिका निवर्तमान अध्यक्ष बिर्ख बहादुर मल्लले प्रशासन कार्यालयले शिक्षकहरुको मागलाई तुरुन्त सम्बोधन गर्नु पर्नेमा धर्ना बस्दा समेत वास्ता नगरेको आक्रोश पोखे ।
‘हत्केडी लगाएर नियन्त्रणमा लिइ सकेपछि कुटिएको अवस्था छ, राज्यले नियन्त्रणमा लिइ सकेपछि यसरी कुटपिट गराउन पाउँछ’ उनले भने,‘हाम्रो माग पूरा नभएसम्म विद्यालय बन्द हुन्छ, धर्ना जारी रहन्छ ।’
शिक्षक महासंघले प्रशासन कार्यालयको प्रवेशद्वारमा व्यानर लगाएर धर्ना दिएको थियो । जिल्लाभरका शिक्षकहरु धर्नामा सहभागी भएपछि सोमबार विहानदेखि त्यस क्षेत्रमा भीडभाड भएको थियो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरका सचिव उत्तम विष्टले प्रशासन कार्यालयले शिक्षक महासंघसित छलफलका लागि चासो नदेखाएको बताए । ‘धर्ना बसेपछि अन्तिमसम्म छलफल हुने आशा थियो, प्रशासनले चासो नै देखाएन, कुनै पहल नै गरेन’ उनले भने ।
शिक्षक महासंघले आन्दोलनका लागि शिक्षक संघका जिल्ला अध्यक्ष विरेन्द्र सिह भण्डारीको नेतृत्वमा आन्दोलन परिचालन समिति बनाएको छ । आइतबार भीमदत्त नगरपालिकाका सबै शिक्षण संस्था बन्द गराएको शिक्षक महासंघले सोमबार जिल्लाभर आन्दोलनमा उत्रिएको हो ।
प्रशासन कार्यालयले भने शिक्षक महासंघका माग सम्बोधन गरी छलफलका लागि बोलाएको दावी गरेको छ ।
