५ बुँदे सहमतिले पनि नखुल्ने भयो लेखापाल कुटपिट घट्ना भएको सिद्धनाथ मावि, बुधबार विहान बोलाइयो अभिभावक भेला
महेन्द्रनगर । प्रशासन कार्यालयमा पाँच बुँदे सहमतिपछि अनिश्चितकालिन बन्द गरिएका जिल्लाभरका शिक्षण संस्था बुधबारदेखि खुले पनि सिद्धनाथ माध्यमिक विद्यालय जिमुवामा पठनपाठन नहुने भएको छ ।
प्रशासन कार्यालयमा नेपाल शिक्षक महासंघसित गरिएको ५ बुँदे सहमति गरी सबै शिक्षण संस्था सञ्चालन गर्ने निर्णय गरिएको छ । प्रशासनसित सहमतिपछि सिद्धनाथ माविले भने पठनपाठन सञ्चालनका लागि छलफल गर्न बुधबार विहान अभिभावक भेला बोलाएको छ ।
भदौ ३ गते लेखापाल विरेन्द्रप्रसाद जोशीमाथि प्रहरी नियन्त्रणमा कुटपिट भएपछि शान्ति सुरक्षाको कारण देखाउँदै विद्यालयमा पठनपाठन बन्द गरिएको थियो । प्रहरीले हत्केडी लगाएर नियन्त्रणमा लिई सकेपछि जोशीमाथि निर्घात कुटपिट गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश विष्टले पठनपान सञ्चालनका लागि बुधबार विहान भेला बोलाइएको बताए । ‘भेलाको निर्णयका आधारमा अिघ बढ्छौ’ उनले भने ।