
महेन्द्रनगर । जिमुवा घट्नालाई लिएर आन्दोलित शिक्षक महासंघ र प्रशासनबीच भएको पाँच बुँदे सहमतिले सत्तारुढ काँग्रेस सम्बद्ध नेपाल शिक्षक संघभित्र असन्तुष्टि बढेको छ । प्रशासन कार्यालयमा मंगलबार साँझ सहमतिपछि संघका जिल्ला उपाध्यक्ष नविन सिह धामीले सामाजिक सञ्जाल फेसबुकबाट सहमतिमा तीव्र असन्तुष्टि पोखेका हुन् ।
जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयका लेखापाल विरेन्द्र प्रसाद जोशीमाथि भदौ ३ गते भएको निर्घात कुटपिटको घट्नालाई लिएर शिक्षक महासंघ अनिश्चितकालिन विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएपछि मंगलबार प्रशासन कार्यालयमा पाँच बुँदे सहमति भएको थियो ।
प्रशासन कार्यालयमा विभिन्न शिक्षक संगठनका प्रतिनिधिको सहभागी वार्ताको नेतृत्व आन्दोलन परिचालन समितिका संयोजकको हैयिसतमा शिक्षक संघका जिल्ला अध्यक्ष विरेन्द्र सिह भण्डारीले गरेका थिए ।
लेखापाल जोशीको घट्ना छानबिन गरी कारवाहीको लागि सरकारलाई दबाव दिन आइतबार जिल्ला अध्यक्ष भण्डारीको संयोजकत्वमा सबै संगठनको प्रतिनिधित्व हुने गरी आन्दोलन निर्वाचन परिचालन समिति गठन गरिएको थियो ।
प्रशासन कार्यालयमा सहमित पत्रमा हस्ताक्षरपछि पत्रकार सम्मेलन गरी शिक्षक महासंघले पत्रकार सम्मेलन गरी पाँच बुँदे सहमति सार्वजनिक गरेको थियो ।
सहमति पत्र सार्वजनिक भएको केही समयपछि शिक्षक संघका उपाध्यक्ष धामीले सामाजिक सञ्जालबाट सहमतिमा असन्तुष्टि व्यक्त गरेका हुन् ।
उपाध्यक्ष धामीले वार्तामा सहभागी शिक्षक संगठनको नेतृत्वलाई नालायकको संज्ञा लिएर हत्केडी लगाएर कुटपिट भएको विषयलाई हल्का रुपमा लिएको भन्दै असन्तुष्टि पोखेका छन् ।
पाँच बुँदे सहमतिमा उल्लेखित जोशी उपचार खर्चमा उपाध्यक्ष धामी आक्रोशित भएका हुन् । प्रशासन कार्यालयमा उपचार खर्चमा लामो छलफलपछि पनि सहमति जुट्न नसक्ने अवस्था आएपछि भीमदत्त नगरपालिकाले तत्काल ५० हजार सहयोग गर्ने र जिल्ला समन्वय समितिका प्रमुख दुर्गा बोहराले सबै स्थानीय तहबाट २० हजारका दरले सहयोग संकलन गर्ने अनौपचारिक सहमति भएको थियो ।
शिक्षक संघका उपाध्यक्ष धामीले उपचारका लागि आर्थिक सहयोग संकलन आन्दोलन गरिएको हो किन भनेर प्रश्न सोधेका छन् ।
उपाध्यक्ष धामीले शिक्षक कुटपिट घट्नालाई गम्भीर रुपमा नलिएको आरोप लगाउँदै नेतृत्वलाई निकम्मा र अक्षम नेतृत्व भनेर आक्रोश पोखेका छन् ।
शिक्षक आन्दोलनमा महासंघको लेटरप्याड दुरुपयोग गरिएको तथा शिक्षक आन्दोलनलाई नेतृत्वले धोका दिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
वार्ताकामा जिल्ला समन्वय समितिका प्रमुख दुर्गा बोहरा र भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी आमन्त्रित गरिएका थिए । उनीहरु दुबै जना काँग्रेसका नेता हुन् ।
शिक्षक संघका उपाध्यक्ष धामीले सार्वजनिक रुपमा असन्तुष्टि पोखेपछि अन्य शिक्षक संठगनले आन्तरिक रुपमा अनौचारिक छलफल गर्न थालेका छन् । ती संगठनका नेता शिक्षक संघको गुटगत लडाई शिक्षक आन्दोलनसम्म देखिएको बताउन थालेका छन् ।
‘संघका अध्यक्षको नेतृत्वमा आन्दोलन गरी वार्तासम्म गरेर पाँच बुँदे सहमति भयो, त्यो सहमतिको संघको पदाधिकारीबाट विरोध हुन्छ भने त्यो वहाँहरुको गुटगत लडाई बाहेक अरु केही होइन’ वार्तामा सहभागी एक शिक्षक संगठनका प्रतिनिधिले भने,‘संघको गुटगत लडाई यो आन्दोलनमा छरपष्ट हुन दुःखद हो, यसबारे शिक्षकसंघसित कुरा हुन्छ ।’
नेृपाल शिक्षक संघका एक पूर्व अध्यक्षले पनि संघका दुई गुटको लडाईमा सहमतिमा असन्तुष्टिको रुपमा देखिएको बताए ।
ती पूर्व अध्यक्ष अनुसार शिक्षक संघको जिल्ला अधिवेशनमा अध्यक्ष भण्डारी र धामी दुबै नेतृत्वका आकाँक्षी थिए । अविधेशनमा अन्तिमसम्म भएका प्रयास सफल नभएपछि कार्यदल गठन गरी नेतृत्व चयन गरिएको थियो । कार्यदलले भण्डारीलाई अध्यक्ष र धामीलाई उपाध्यक्ष बनाएको थियो ।
शिक्षक संघका उपाध्यक्ष धामीले असन्तुष्टि जनाएर शपथ ग्रहण बहिस्कार गरेका थिए । काँग्रेस कञ्चनपुरमा पार्टीदेखि भातृ संगठनसम्म संस्थापन पक्षका दुई समूह छन् । ती समूहलाई केन्द्रीय सदस्यद्वय रमेश लेखक र एनपी साउँदले नेतृत्व गर्दै आएका छन् ।
शिक्षक संघको अधिवेशनमा पनि यी दुई नेताको गुटको लडाँई देखिएको थियो । नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरका सचिव उत्तम विष्टले भने शिक्षक आन्दोलनको माग अनुसार सहमति भएको बताए । ‘पाँच बुँदे सहमति माग अनुसार भएको छ, त्यो सहमतिमा केही शब्द अलिकति मिलेका छैनन्’ उनले भने ।
