सुप विश्वविद्यालय : डेढ महिनापछि राप्रपाका विद्यार्थीले केन्द्रीय कार्यालयमा लगाएको ताला खुल्यो, समाजवादी अखिलको यथावत
महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको तालाबन्दी डेढ महिनापछि खुलेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसंघ)ले राजनीतिक भागबन्डा अन्त्य गर्नु पर्ने माग राख्दै १ साउनदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो ।
विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी संगठनबीच छलफलपछि तालाबन्दी खोलिएको सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले बताए ।
उनले विद्यार्थी संगठनले उठाएका माग सम्बोधनका लागि विश्वविद्यालय सधैं तयार भएको र तालाबन्दीले विश्विद्यालयका कामकाज प्रभावित हुने अवस्था आएकाले छलफल गरी तालाबन्दी गरिएको हो ।
विश्वविद्यालयले असार अन्तिम साता विभागीय प्रमुख र क्याम्पस प्रमुखहरुको नियुक्ति गरेपछि राप्रविसंले केन्द्रीय क्याम्पसमा तालाबन्दी गरेको थियो । संगठनले नियुक्ति खारेज नभएसम्म तालाबन्दी नखोलिने चेतवानी दिएको थियो ।
तालाबन्दीको ३६ औं दिनमा गरिएको पत्रकार सम्मेलनमा संगठनले भदौ १० गतेपछि आन्दोलनको स्वरुप फेरिने जानकारी दिएको थियो ।
विश्वविद्यालयका पदाधिकारीसित छलफलमा पनि विद्यार्थी संगठनका प्रतिनिधिले लामो समयको तालाबन्दीले विश्वविद्यालयका कामकाजमा बाधा पर्ने भएकाले आफूहरु आन्दोलनको स्वरुप फेरेर तालाबन्दी खोल्न सहमत भएको धारणा राखेका थिए ।
विश्वविद्यालयका रजिष्ट्रार पाठकले भने विभागीय नियुक्ति र क्याम्पस प्रमुख नियुक्ति खारेज हुन नसक्ने बताए । ‘यो नियुक्ति भई सकेको विषय हो, यसमा पछाडि फर्कन सक्ने अवस्था छैन’ उनले भने ।
विश्वद्यिालयका रजिष्ट्रार पाठकले यस अघि पनि तालाबन्दी खोल्नका लागि विद्यार्थी संगठनसित छलफल गरेका थिए । डेढ महिनासम्म तालाबन्दीले विश्वविद्यालयको कामकाज प्रभावित भएको थियो ।
राप्रविसंले ताला खोलिए पनि केन्द्रीय क्याम्पसमा सत्तारुढ नेकपा एकीकृत समाजवादी सम्बद्ध अनेरास्ववियुको तालाबनदी यथावत छ ।
अनेरास्ववियूका नेताहरुले विश्वविद्यालय प्रशासनले अहिलेसम्म आफूहरुलाई वार्ताका लागि नबोलाएको बताएका छन् ।
अनेरास्ववियुले परीक्षा नियन्त्रण कार्यालयमा लगाएको ताला विद्यार्थीहरुले तोडि दिएका छन् ।