महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय तोडफोडबारे आफूलाई थाहा नभएको नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुका जिल्ला संयोजक प्रज्वल कुँबरले बताएका छन् ।
अनेरास्ववियुले प्रश्नपत्र हुबहु भएको भन्दै साउन २२ गते परीक्षा नियन्त्रण कार्यालयमा लगाएको ताला तोडिएपछि शुक्रबार परीक्षा नियन्त्रक र सह नियन्त्रकको कार्यकक्षमा तोडफोड गरिएको थियो ।
अनेरास्ववियुका जिल्ला संयोजक कुँबरले परीक्षा नियन्त्रण कार्यालय तोडफोड र तालाबन्दीबारे आफूलाई केही थाहा नभएको बताएका हुन् । ‘मलाई कसले तोडफोड ग¥यो, तालाबन्दी ग¥यो भन्ने केही थाहा छैन’ उनले भने ।
शुक्रबार अनेरास्ववियुका विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरेका थिए । परीक्षा नियन्त्रक देब सिह नाथले ताला तोड्न लगाएको आरोप लगाउँदै तोडफोड गरिएको हो । तोडफोडपछि कार्यालयले जाहेरी दिएको छ । अनेरास्ववियुले विश्वविद्यालय केन्द्रीय कार्यालयमा लगाएको तालाबारे पनि आफूलाई केही थाहा नभएको संयोजक कुँबरले बताए ।
परीक्षा नियन्त्रण कार्यालयमा ताला लगाएको केही दिनपछि विश्वविद्यालय कार्यकारी परिषद्ले गरेको विभागीय र क्याम्पस प्रमुख नियुक्ति खारेजीको माग राखेर केन्द्रीय कार्यालयको प्रवेशद्वारमा तालाबन्दी गरिएको थियो ।
अनेरास्ववियुमा जिल्ला इन्चार्ज रमेश पन्त र संयोजक कुँबरका दुई गुट भएको नेताहरु बताउँछन् । विश्वविद्यालय केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा पन्त समुहले तालाबन्दी गरेको हो ।
जिल्ला संयोजक कुँबर समूह तालाबन्दी विरुद्ध उभिएको छ । केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयको तालाबन्दीपछि संयोजक कुँबरले सामाजिक सञ्जाल फेसबुकबाट असन्तुष्टि पोखेका थिए ।
केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयको तालाबन्दी समाजवादीले परीक्षा नियन्त्रकको बार्गेनिङ्गका लागि गरेको हुन सक्ने विश्वविद्यालयका एक अधिकारीले बताए ।
‘आंगिक क्याम्पस प्रमुखको भाग नपाएकाले समाजवादी असन्तुष्टि छ, परीक्षा नियन्त्रकमा दावी हुन सक्छ, त्यसका लागि यो बार्गेनिङ्ग हुन सक्छ’ ती अधिकारीले भने ।
विश्वविद्यालयका १६ क्याम्पसमा भाग पाउन नसकेको समाजवादीले एक जना विभागीय प्रमुख पाएको छ । समाजवादीले क्याम्पस प्रमुखमा पनि दावी गरेको थियो ।
क्याम्पस प्रमुख नपाएका कारण समाजवादीको एक समूह नियुक्ति खारेजीको माग अघि सारेर परीक्षा नियन्त्रकमा बार्गेनिङ्गमा लागेको विश्वविद्यालयका अधिकारीहरुको आशंका छ ।
समावादीका नेताहरु अनुसार इन्चार्ज पन्त उर्वादत्त पन्त र कुँबर प्रकाश रावल नजिकका छन् । नेताद्वय पन्त र रावल दुबै भीमदत्त नगरपालिका ६ का वासिन्दा हुन् ।
अनेरास्ववियुको जिल्ला संयोजकमा पन्त र कुँबर दुबैको दावी थियो । अनेरास्ववियुका प्रदेश कमिटीले कुँबरलाई जिम्मेवारी दिएको केही दिनपछि पन्तलाई पनि संयोजक बनाइएको थियो । पछि पन्तलाई इन्चार्ज बनाएर कुँबरलाई संयोजक यथावत राखिएको थियो ।
एमाले विभाजन अघि यी दुई नेता एमाले निकट अनेरास्ववियुमा आवद्ध थिए । यी दुबै नेताले संगठनभित्र हक्की र जुझारु नेताको छवि बनाएका छन् ।
परीक्षा नियन्त्रण कार्यालयको तालाबन्दीपछि यी दुई नेताको मतभेद छर्लङ्ग हुन पुगेको छ । यी दुई नेताका कारण अनेरास्ववियुको विश्वविद्यालय कमिटीका पदाधिकारी तालाबन्दीको पक्ष विपक्षमा बाँडिएका छन् ।