सुप विश्वविद्यालयमा आन्दोलनको स्वरुप बदल्न अनेरास्ववियुको केन्द्रीय कमिटीको निर्देशन

महेन्द्रनगर । सत्ता साझेदार नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुका केन्द्रीय कमिटीले सुदूरपश्चिम विश्वविद्यालयमा आन्दोलनको स्वपरु बदल्न जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।

संगठनका केन्द्रीय अध्यक्ष आरती लामाले आइतबार विज्ञप्ति जारी गर्दै अनेरास्ववियु केन्द्रीय कमिटी तालाबन्दीको विरुद्ध भएकाले रचनात्मक ढङ्गले आन्दोलनको स्वरुप परिवर्तन गर्न निर्देशन दिएकी हुन् ।

अनेरास्ववियुले भदौ १५ गते परीक्षा नियन्त्रण कार्यालयमा लगाएको ताला पदाधिकारीले तोड्न लगाएको भन्दै परीक्षा नियन्त्रक र सह नियन्त्रकको कार्यकक्षमा तोडफोड गरेको थियो ।

अध्यक्ष लामाले विज्ञप्तिमा ताला तोडिएको घट्ना सम्बन्धि छलफल गर्न जाँदा गालीगलौज गरी विद्यार्थीलाई बोलाएर ताला तोडिएपछि गलत प्रचार गरिएको आरोप लगाएकी छन् ।

अनेरास्ववियुले तोडफोडमा संलग्न भएको दोषी करार गर्न संगठनका जिल्ला इन्चार्ज रमेश पन्त र सदस्य तोयराज जोशीलाई मुद्दा लगाइएको भन्दै फिर्ता लिन माग गरेको छ ।

संगठनले वार्ता र छलफलका माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले हुबहु प्रश्न पत्र बनाएको भन्दै अखिलले साउन १८ गते लगाएको ताला भदौ १० गते तोडिएको थियो । अखिलले परीक्षा नियन्त्रण कार्यालयपछि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा पनि ताला लगाएको थियो ।

विश्वविद्यालय कार्यकारी परिषद्ले गरेको विभागीय प्रमुख र आङ्गिक क्याम्पस प्रमुखको नियुक्तिको खारेजीको माग गर्दै तालाबन्दी गरिएको थियो ।

ती दुबैको नियुक्तिमा समाजवादीको भागमा एक जना विभागीय प्रमुख परेको थियो । केही दिनपछि रिक्त हुन लागेको परीक्षा नियन्त्रकमा पनि समाजवादीले आन्तरिक रुपमा भाग खोजि सकेको विश्वविद्यालयका अधिकारीहरु बताउँछन् ।

समाजवादीका केही नेताले एक जना सह प्राध्यापकलाई परीक्षा नियन्त्रक बनाउने आश्वासन दिएर आश्वास्त पारि सकेको नेताहरु बताउँछन् ।

सम्बन्धित
Loading...