![ghar sansar](https://ebikalpadainik.com/wp-content/uploads/2024/09/ghar-sansar-1.png)
काठमाडौं । भीमदत्त नगरपालिकाको नदीजन्य वस्तु उत्खनन ठेक्का सम्बन्धि मुद्दामा राजनीतिक फ्याक्टर समेत जोडिएको छ । तत्कालीन नगर प्रमुख सुरेन्द्र विष्टको पालामा भएको नदीजन्य वस्तुको ठेक्कामा भएको भ्रष्टाचार मुद्दामा नेकपा (एमाले) सहित नेपाली काँग्रेसका नेताहरूको पोलिटिकल कनेक्सन देखिएको हो ।
स्रोतका अनुसार पार्टीभित्रको अन्तरद्वन्दले सो भ्रष्टाचार मुद्दामा पनि स्थान पाएको हो। काँग्रेस कञ्चनपुरका केही नेता तथा कार्यकर्ताहरु गुटगत राजनीतिका कारण उक्त मुद्दामा सिकार भएको बताइएको छ। पहिल्यैदेखि कञ्चनपुरमा काँग्रेसभित्र हालका परराष्ट्रमन्त्रीसमेत रहेका एनपी साउँद र काँग्रेसका प्रमुख सचेतक रमेश लेखकबीच अन्तरद्वन्द थियो। सो अन्तरद्वन्द भीमदत्तको नदीजन्य वस्तुको ठेक्कामा छुट दिएर राजस्व चुहावट गरेको भ्रष्टाचार मुद्दाका सवालमा छताछुल्ल भएको बताइन्छ ।
![lotus institite](https://ebikalpadainik.com/wp-content/uploads/2024/10/lotus-instiute.jpg)
सो मुद्दामा भएभरको पहुँच लगाएर रमेश लेखकले आफू निकटलाई जोगाएको र एनपी निकटकालाई मुद्दा लगाउन दबाब दिएको आरोप लागेको छ। सो भ्रष्टाचार मुद्दामा अहिले प्रतिवादी रहेका एनपी निकट इन्जिनियर हिमालय ऐर, तत्कालीन नगर प्रमुख (एमालेका तर एनपी निकट इष्टमित्र) सुरेन्द्र विष्ट सहित दिवाकर भट्ट, केशवराज भट्ट, इश्वरी भट्ट, पुष्पराज भट्ट खगेश्वरी भट्ट समेतलाई मुद्दा चलाइएको छ ।
सो ठेक्का प्राप्त गर्ने भवानी कन्स्ट्रक्सनका मालिक समेत रहेका स्व. इश्वरी भट्ट काँग्रेसको (एनपी निकट) आमन्त्रित जिल्ला सदस्य समेत थिए । यस्तै लेखककै दबावमा एमाले निकट कर्मचारीलाई पनि मुद्दा चलाइएको बताइएको छ। जसमा तत्कालीन प्रशासकीय अधिकृत छन् ।अख्तियारमा आफू निकट आयुक्त जय बहादुर चन्द भएकै कारण आफूहरुलाई मुद्दा चलाउन दबाब दिएको एनपी निकटस्थहरुको दाबी छ ।
त्यो बेला जय बहादुर सुदूरपश्चिम हेर्ने आयुक्त समेत थिए । सोही मौकामा जय बहादुरले अख्तियारमा पनि आफू अनुकूल मान्छे खटाएर अनुसन्धान गरेको बताइन्छ । उता एनपीले भने आफूहरूलाई संरक्षण नगरेको निकटस्थको गुनासो छ। पटक पटक भट्ट टोली सहितले एनपीलाई गुहार माग्दा पनि सहयोग नमिलेको स्रोतको भनाई छ। मन्त्री भएपछि भोजभतेरमै मस्त एनपीको साथ सोही कारण कार्यकर्ताहरुले छोड्दै गएका छन्। स्थानीय निर्वाचन र पार्टीको जिल्ला अधिवेशनमा पनि एनपी निकटका मानिने पदम बोगटी सहितलाई रणनीतिक रुपमा लेखकले आफूतिरै तानेको बुझिएको छ।
![daimond public](https://ebikalpadainik.com/wp-content/uploads/2025/01/hira-chand.jpg)
एनपी निकटस्थ कार्यकर्ताका अनुसार भ्रष्टाचार मुद्दामा जसरी पनि एनपीका मान्छे हाल्न भन्दै लेखकले अख्तियारका आयुक्त जय बहादुर चन्दलाई नै खटाएका थिए । चन्दले विभिन्न खेलोमेलो गरेरै भएपनी लेखकका मान्छेलाई जोगाएको बताइन्छ। आयुक्त चन्द तीनै मान्छे हुन् जोलाई एकताका पैसा बुझाएर नेपाल प्रहरी आइजीपी हुन खोजेको आरोप लागेको थियो । त्यो बेला पनि रमेश लेखक मार्फत चन्दले काँग्रेसकी केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य (वर्तमान) आरजु राणा देउवालाई पैसा बुझाएर आइजीपी हुन खोजेको आरोप खेपेका थिए ।
तर, त्यति बेला चन्दको त्यो प्रयास भने विफल रह्यो । तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री विमलेन्द्र निधिले चन्दलाई आइजीपी नियुक्त गरेपनि उनी नियुक्त भएको केही घण्टाको समयमै उनको पद खोसियो। तत्कालीन समयमा सर्वोच्च अदालतले कार्यसम्पादन मूल्यांकनका आधारमा आइजीपी नियुक्त गर्न भन्दै गृहलाई सुझाएको थियो । त्यसपछि चन्दभन्दा सिनियर प्रकाश अर्याल आइजीपी नियुक्त भएका थिए । सो समयमा नेपाल प्रहरी ३ महिनासम्म नेतृत्वविहीन समेत बनेको थियो। त्यसबेला ती चन्दलाई भित्ते आइजीपीको नामले चिन्ने गरिन्थ्यो ।
त्यसपछि नेपाल प्रहरीको एआइजीबाटै रिटार्यड चन्द नेपाली काँग्रेसको कोटाबाट अख्तियारमा छिरेर आयुक्त बनेका थिए । आयुक्त बन्न लेखकको आशीर्वाद रहेकै कारण पछिल्लो संसदीय निर्वाचनमा उनलाई जिताउन चन्द महेन्द्रनगर र धनगढी नै पुगेर बसेका थिए ।
सो समयमा चन्दले धनगढीको रुबस होटल र महेन्द्रनगरको एक होटलमा बास बसेर जिल्लाका व्यवसायीसहितका मतदातालाई प्रभावमा पारेको भन्दै एमाले निकट राष्ट्रिय युवा संघ नेपालका तत्कालीन महासचिव क्षितिज थेबेले विज्ञप्ती नै निकालेका थिए ।
यतिमात्र होइन, संसदीय निर्वाचनकै बेला लेखकका प्रतिद्वन्दी (एमालेकी नेतृ निरुदेबी पाल) को सूचना लिनका लागि जय बहादुरले आफन्त समेत रहेका तेज बहादुर चन्दलाई ड्राइभर बनाएर खटाएका थिए । तेजबहादुर तिनै मान्छे हुन्, जो भ्रष्टाचार मुद्दामा मुछिनैपर्ने भए पनि जय बहादुरकै कारण चोखिएका छन्। उनीजस्तै अरु थप २÷३ जना अरुलाई पनि यो मुद्दामा छुट मिलेको बताइएको छ ।
साभार : महेन्द्रनगर पोष्ट
![Himal dental](https://ebikalpadainik.com/wp-content/uploads/2024/11/himal-dental.png)