दोधारा चाँदनीमा एक वर्षमै यतिको उपलब्धि, सार्वजनिक सुनुवाईमा गरिए नमूना काम सार्वजनिक

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाले एक वर्ष अघिको स्थानीय तह निर्वाचनपछि नगरपालिकामा नमूना काम सार्वजनिक गरेको छ । दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा मंगलबार गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा नमूना कामबारे जानकारी दिइएको छ ।

नगरपालिकाले मंगलबार गत आर्थिक वर्ष नगरपालिका कार्यालयबाट प्रवाह गरिएका सेवा र विकास निर्माणका कार्य सम्बनिध सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।

दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु, उप मेयर गंगा जोशी सहित जनप्रतिनिधि र सरोकारवाला सहभागी कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले नमूना काम सम्बन्धि जानकारी गराएका हुन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मिश्रले गत आर्थिक वर्ष २०७९÷०८० मा नगरपालिका कार्यालयबाट सम्पन्न विभिन्न कार्यक्रम सहित नमूना कामको जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत मिश्रका अनुसार २०७९ को स्थानीय तह निर्वाचनपछि दोधारा चाँदनीमा एक दर्जन बढी नमूना काम भएका छन् ।

दोधारा चाँदनी नगरपालिकाले गत वर्ष देशभरमै सबैभन्दा पहिला बजेट स्वीकृत गरेको थियो । नगरपालिकाले यसलाई पहिलो नमूनाको कामको रुपमा लिएको छ ।

विद्युती भुक्तानी प्रणाली, स्थानीय पाठ्यक्रम निर्माण, शिक्षण सिकाई उपलब्धि मूल्याङ्कन, दोधारा प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालमा स्तरोन्नति, छाडा पशु चौपाया नियन्त्रण नमूनाका काम रुपमा राखिएका छन् ।

गत वर्ष कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम तयार गरी यस वर्ष पाठ्यपुस्तक तयार भएका छन् । अघिल्लो पाँच वर्षसम्म बन्न नसकेको स्थानीय पाठ्क्रम गत वर्ष बनाएर लागू हुने अवस्थामा पुगेको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति गरी बनेको नगर अस्पतालबाट बहिरङ्ग सेवा(ओपिडी) र समान्य शल्यक्रिया सेवा सुरु गरिएको प्रशासकीय अधिकृत मिश्रले बताए ।

स्थानीय तह निर्वाचनपछि नगरपालिकामा मेयर लिम्बुले छाडा पशु चौपाया नियन्त्रणका लागि कार्य सुरु गरेका थिए । अहिले सबै वडामा कान्जी हाउस लगायतका संरचना बनाएर चौपाया व्यवस्थापन गरिएका छन् ।

सामाजिक सुरक्षा भत्ता वितरणलाई पनि नगरपालिकाले नमूना कामका रुपमा लिएको छ । नगरपालिकाले घरदैलोमा पुगेर भत्ता वितरण गरेको हो । नगरपालिकाका अनुसार अपाङ्गता भएका व्यक्ति र अशक्तलाई घरमै पुगेर भत्ता दिने गरिएको छ । त्यस बाहेक अन्यलाई गाउँ टोलमा भत्ता दिने गरिएको छ ।

शैक्षिक गुणस्तर सुधारका लागि शिक्षण सिकाई उपलब्धि मूल्याङ्कन थालिएको नगरपालिकाको भनाई छ ।

महाकाली नदी र जोगबुडा नदीबाट आन्तरिक आम्दानी अशुली पनि नगरपालिकाको नमूना काममा समेटिएको छ । भीमदत्त नगरपालिकासित रोयल्टी बाँडफाँट सहमतिमा विवाद भएपछि गत वर्ष दोधारा चाँदनीले आफंंैले ठेक्का लगाएर एक करोड ३३ लाख राजश्व संकलन गरेको थियो ।

यसैगरी अहिलेसम्म राजश्व नआएको जोगबुडा नदीमा माछा मार्ने ठेक्का दिएर राजश्व संकलन गरिएको नगरपालिकाको भनाई छ ।

कुतियाकवरमा सुरक्षित आवाश निर्माण, महाकाली नदीको चार लेनमा पुलमा रडार जडान, विपद् प्रतिकार्यका लागि युवाको सञ्जाल गठन लगायतका कार्यलाई नमूनाका रुपमा राखिएका छन् ।

मेयर लिम्बुले निर्वाचित भएर आएपछि जनप्रतिनिधि, कर्मचारी, नगर वासिन्दाका सबै साथ सहयोगमा नगरपालिकाको स्रोत साधन अनुुसार जन आकाँक्षा पूरा गर्न लागि परेको बताए ।

उनले विद्युत समस्या समाधानका लागि आफूले नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ्गसम्म पहल गरी फिडर जडानका लागि एक करोड ६० लाख बजेट ल्याएको बताए ।

नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा शुक्लाफाँटा मिडिया प्रा.लि. पराशर्म दाता थियो ।

कार्यक्रममा सहभागीले मेयर लिम्बु, उप मेयर जोशी सहित वडा अध्यक्षलाई विभिन्न जिज्ञासा राखेका थिए ।

कार्यक्रम शुक्लाफाँटा मिडिया प्रालिका अशोक प्रसाद पाण्डेय र विष्णु दत्त अवस्थीले सहजीकरण गरे ।

सम्बन्धित
Loading...