महेन्द्रनगर । भीमदत्त नगरपालिकाले दुई शाखाका कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ । आर्थिक प्रशासन शाखामा भने दोधारा चाँदनी नगरपालिका कार्यालयबाट लेखापाल काजमा आउने लागेका छन् ।
भीमदत्तको राजश्व नीति तथा प्रशासन उप शाखाका लक्ष्मी भाट ओझा समान्य प्रशासन उप शाखाको जिम्मेवारी दिइएको छ । उनको स्थानमा सूचना प्रविधि शाखाका सुरेश भट्टलाई पठाइएको छ ।
भाटलाई यस अघि पञ्जीकरण उप शाखाबाट राजश्वमा पठाइएको थियो । उनी दुई महिना नपुग्दै प्रशासन उप शाखामा पुगेकी छन् ।
आर्थिक प्रशासन शाखामा दोधारा चाँदनी नगरपालिकाका लेखापाल गोविन्द ऐर आउन लागेका छन् । भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौलीले दोधारा चाँदनी नगरपालिकासित कुराकानी भएर ऐर लेखामा आउन लागेको बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महाकाली नदीको रोयल्टी रकम छुट सम्बन्धि भ्रष्टाचार मुद्दा दायर गरेपछि कर्मचारी निलम्बन भएकाले दुई शाखाको जिम्मेवारी हेरफेर गरिएको हो । आर्थिक प्रशासन शाखाका सबै कर्मचारी निलम्बनमा भएकाले दोधारा चाँदनी नगरपालिकाबाट लेखापाल ल्याउन लागिएको हो ।
भीमदत्तमा महाकाली नदी रोयल्टी छुट मुद्दामा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सहित १० जना निलम्बनमा परेका छन् ।