महेन्द्रनगर । सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयलाई राजनीतिक पूर्वाग्रहका आधारमा महाकाली प्रादेशिक अस्पताल सरुवा गरिएको खुलासा भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साउँद र सेती प्रादेशिक अस्पतालका अध्यक्षको योजनामा सत्तारुढ माओवादी केन्द्र सम्बद्ध चिकित्सकलाई प्रमुखको जिम्मेवारी दिन पाण्डेयलाई सरुवा गरिएको खुलेको छ ।
सत्तारुढ माओवादी केन्द्र सम्बद्ध मन्त्री साउँद र अध्यक्ष दुबैले सेती अस्पतालमा माओवादी केन्द्र सम्बद्ध डा. शेर बहादुर कमरलाई प्रमुख बनाउन पाण्डेयलाई सरुवा गरेको अस्पताल स्रोतको दावी छ ।
डा. कमर अहिले निमित्त प्रमुख भएका छन् । केही वर्ष अघि महाकाली अस्पताल बसेका कमर १० औं तहका चिकित्सक हुन् । एमाले सम्बद्ध भएको आरोपमा उनी जागिरको अन्तिम समयतिर ११ औैं तहका पाण्डेयलाई सरुवा गरिएको हो । एमाले दुर्गा प्रसाद जोशीको कार्यकालमा पनि उनलाई हटाउन चलखेल भएको थियो ।
सुदूरपश्चिम प्रदेशका तत्कालिन सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले पाण्डेयलाई जसरी पनि प्रमुखबाट हटाउन चर्को दबाव दिएका थिए ।
एमाले नेताको कार्यकालमा हटाउन खोजिएका पाण्डेयलाई अहिले एमालेसित जोडिएको आशंका सरुवा गरिएको अस्पतालका अधिकारीहरु बताउँछन् । ‘अस्पतालमा ११ आंै तहका वरिष्ठ चिकिसत्कलाई सरुवा गरी कनिष्टलाई प्रमुख बनाउन खोजिदैँछ, यसका पछाडि राजनीतिक स्वार्थ बाहेक अरु के हुन सक्छ’ ती अधिकारीले भने ।
डा. पाण्डेयलाई राजनीतिक बाहेक उनको व्यक्तिगत स्वभावका कारण पनि सरुवा गरिएको हुन सक्ने आशंका गरिएको छ । अस्पताल कर्मचारीहरुका अनुसार उनी कम बोल्ने र भनसुन नगर्ने स्वभावका कारण राजनीतिक दलका नेताहरु उनीसित असन्तुष्ट हुने गरेका छन् । उनी सामाजिक विकास मन्त्रालयमा आफैं गएर पनि कुराकानी गर्र्दै आएको उनका सहकर्मीहरु बताउँछन् ।
मन्त्रालयमा गएर मन्त्रीतिस आफैै कुरा गर्ने भएपछि उनी निशानामा परेको आशंका छ । महाकाली प्रादेशिक अस्पतालका तत्कालिन निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. हरि कुमार श्रेष्ठ पनि पेशागत अडानका कारण निशानामा परेका थिए । उनलाई हटाउन तत्कालिन प्रदेश सरकारका केही मन्त्रीले लबिङ्ग गरेका थिए ।
सामाजिक विकास मन्त्रालय र अस्पताल विकास समितिले कर्मचारी भर्ना, संरचना निर्माण, औषधि खरिद लगायतका विभिन्न कार्यमा डा. पाण्डेयबाट अवरोध हुन आशंकामा सुरुदेखि सशंकित थियो । पाण्डेयलाई सरुवा नगरी अर्कोलाई जिम्मेवारी दिन नसकिने भएपछि मन्त्री साउँद र अस्पताल विकास समितिका अध्यक्ष पाण्डेयलाई सरुवा गर्न लागेका हुन् ।
सुदूरपश्चिम प्रदेशभरका एक मात्रै ११ तहका डा. सरुवा भएपछि अहिले मन्त्री साउँद आलोचनाको निशानामा परेका छन् । डेढ साता अघि सरुवा गरिएका पाण्डेयले पनि अझैसम्म रमाना लिएर सरुवाप्रति मौन असन्तुष्टि पोखेका छन् । सार्वजनिक धारणा नराखेर उनले विदा बसेर सरुवाको विरोध गरेका छन् ।
२०५७ देखि बाल रोग बिषेशज्ञको रुपमा उपचार सेवा दिदैं आएका उनी प्रेसर र सुगरको बिरामी आफूलाई सेवा निवृत्त हुने समय चार वर्ष बाँकी रहदा महेन्द्रनगर सरुवा गरिनु पुरस्कार हो या दण्ड भनेर बुझ्न नसकेको बताएका छन् ।
केही अनलाइनले सामाजिक विकास मन्त्री साउँदको भनाई उद्धृत गर्दै मन्त्रीले पाण्डेको सरुवा नियम संगत भएको तर्क दिएको उल्लेख गरेका छन् ।