महेन्द्रनगर । सरकारले संविधान सभा अध्यक्ष सुभासचन्द्र नेम्बाङको निधनमा राष्ट्रिय शोक विदा दिएको दिनमा बिहीबार खुला मञ्चमा सरसफाई गरिएको छ । कञ्चनपुर होटल व्यवसायी संघ लगायत संघ संस्थाले विहान गौरा पर्वका कारण मञ्चमा भएको फोहर सफा गरेका छन् ।
होटेल व्यवसायी संघ कञ्चनपुर र लियो क्लब अफ लिटिल बुद्धको अगुवाईमा भएको सरसफाई कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व सहभागी भएका छन् ।
होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदीश चन्द्र भट्टले सार्वजनिक स्थलहरू सफा राख्नु पर्छ भन्ने उद्देश्यले उक्त सरसफाई कार्यक्रमको आयोजना गरिएको बताए ।
‘खुल्ला मञ्चमा गौरा पर्वको अवसरमा विभिन्न कार्यक्रम भए, ती कार्यक्रमको बेला जम्मा भएको फोहोर आज हामीले सफाई गरेका छौं।’
सोही अनुरूप बिहीबार महेन्द्रनगर स्थित खुल्लामञ्चमा सरसफाई गरिएको उनले जानकारी दिए । सरसफाईमा होटल व्यवसायी संघ कञ्चनपुरका पदाधिकारी, लियो क्लबका सदस्य, पत्रकार तथा खेलाडी लगायतका सहभागी भएका छन् ।
संविधान सभा अध्यक्ष नेम्बाङ्को बिहीबार अन्त्येष्टिका दिन राष्ट्रिय शोक विदा दिइएको हो । संविधान सभा अध्यक्ष नेम्बाङको तीन दिन अघि निधन भएको थियो ।