युवा संघका नेता कार्यकर्ताबाट निर्घात कुटिएका वडा अध्यक्ष देवकोटा उपचारपछि फर्किए घर, स्थानीयले गरे फूलमाला लगाएर स्वागत
महेन्द्रनगर । अस्पतालमा डिस्चार्ज घर घर फर्किएका भीमदत्त नगरपालिका वडा नं. १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटालाई स्थानीयले फूलमाला लगाएर स्वागत गरेका छन् ।
राष्ट्रिय युवा संघ कञ्चनपुरको जिल्ला अधिवेशनमा साउन २७ गते वडा अध्यक्ष देवकोटालाई एमाले पार्टी कार्यालयमा युवा संघका नेता कार्यकर्ताले निर्घात कुटपिट गरेको थियो । कुटपिटबाट गम्भीर घाइते देवकोटाको काठमाडौंस्थित हेल्पिङ्ग हेन्ण्डस अस्पतालमा उपचार भएको हो ।
तीन दिन अघि अस्पतालबाट डिस्चार्ज भएका देवकोटालाई शुक्रबार विहान वडा कार्यालयमा स्थानीयले स्वागत गरेका हुन् । स्थानीयले उनलाई फूलमाला र अबिर लगाएका छन् । स्थानीय स्वागतपछि केही समय कार्यकक्षमा बसेका उनी त्यसपछि घर गएका छन् ।
‘स्थानीयको यो स्वागत सम्मान मेरा लागि सधैं अविस्मरणीय हुनेछ’ कार्यालयमा उनले भने,‘यो साथ र सहयोग सम्मानको म सधैं ऋणी भई रहनेछु ।’
युवा संघकोे जिल्ला नेतृत्वका लागि दुई गुटबीच चलेको लडाईको चेपुवामा वडा अध्यक्ष देवकोटा परेका थिए । अधिवेशनको बन्द सत्रमा निर्वाचन समिति सदस्य बनाएका उनी निर्वाचन कार्यक्रम बनाउने क्रममा उनीमाथि कुटपिट भएको थियो ।
निर्घात कुटपिटपछि महाकाली प्रादेशिक अस्पताल हुँदै धनगढीको माया मेट्रोमा केही दिन उपचार गरिएको थियो । त्यसपछि धनगढीबाट काठमाडांै रिफर गरिएका उनी झण्डै एक महिनासम्म उपचार गरी डिस्चार्ज भएका हुन् ।
‘धेरै दिनसम्म होस हवास नै थिएन, बोल्न सक्ने अवस्था नै भएन, बाँचिने आश न लागेको थिएन’ शुक्रबार वडा कार्यालयमा वडा अध्यक्ष देवकोटाले भने,‘भाग्यमा बाच्न लेख्न लेखिएको रहेछ ।’
वडा अध्यक्ष देवकोटामाथि कुटपिटलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले गम्भीर रुपमा लिएका थिए । उनले कुटपिटको छानबिन गर्न उपाध्यक्ष युवराज ज्ञवालीको नेतृत्मा समिति बनाएर छानबिन गरेका छन् । समितिले कञ्चनपुर आएर स्थलगत रुपमा घट्नाको अध्ययन गरेको थियो ।
देवकोटा परिवारले कुछपिटमा संलग्न एमाले जिल्ला कमिटी सदस्य सहित युवा संघका ८ जना नेता विरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले उनीहरु सबैलाई जनही ५० हजार धरौटी लिएर छाडेको छ ।
एमाले कञ्चनपुर र राष्ट्रिय युवा संघ केन्द्रीय कमिटीले कुटपिटमा संलग्न नेता कार्यकर्तालाई पार्टी सदस्यता समेत नरहेन गरी निलम्बन गरेको छ ।