ghar sansar

थारु समुदायले हर्षोल्लासका साथ मनाउँदैछन् अटवारी

डिल्लीराज पन्त
महेन्द्रनगर । कञ्चनपुरका थारु समुदायका पुरुषहरूले आज हर्षोल्लासका साथ अटवारी पर्व मनाइरहेका छन् । भदौ महिनाको कृष्णअष्टमीपछिको शुक्लपक्षको पहिलो आइतबारका दिन थारु समुदायले यो पर्व मनाउने गर्दछन् ।

पर्वका दिन थारु समुदायका पुरुषहरू दिनभरि व्रत बसी साँझ घरमा पवित्र तरिकाले रोटी पकाई दही, फलफूलसाथ अग्नि देवतालाई अपर्ण गरी आफ्ना दिदीबहिनीको नाममा अग्रासन छुट्याई परिकार खाने गर्दछन् ।

यस पर्वमा पाँच पाण्डवमध्ये भीमको पूजा गर्ने गरिन्छ । प्राचीन दाङका राजा दङ्गीशरणको राज्यलाई भीमले शत्रुबाट बचाएको सम्झनामा यो पर्व मनाउन थालिएको स्थानिय विष्णु चौधरी बताउँछन् ।

यस पर्वलाई थारु समुदायले मघि पछिको ठूलो पर्वका रूपमा मनाउने गरेका छन् । शनिबार यहाँका थारु समुदायले पिठो पिस्ने, तोरीको तेल पेल्ने र पाकेको केरा घरमा ल्याउने कार्य गर्दछन ।

यस पर्वको अघिल्लो दिन माछा तथा कुखुराको मासु दरका रूपमा खाने चलन यस समुदायमा रहेको छ । घरभित्र गोवरले लिपपोत गरी गन्यारी भन्ने काठबाट तीन÷चार जना मिली आगो बाल्ने गरिन्छ । सोही चोखो आगो सबैले घरघरमा लैजाने गर्दछन् । सो आगोबाट पकाइने परिकार व्रत नबसेका व्यक्तिले छुन नहुने चलन रहेको थारु अगुवा कालुराम चौधरी बताउँछन् ।

घरमा पकाइएको परिकार घरका सबै व्रतालुको भाग लगाई बचेका परिकार अग्रासनका रूपमा दिदीबहिनीको घरघरमा पुगेर दिने चलन रहेको छ ।

परिकारका रूपमा हलुवा, रोटी, फुलौरा, पतौला आदि बनाइन्छ । परिकार अग्निमा होमे पछि खानपिन सुरु हुन्छ । दाजुभाइले परिकार ल्याउने आशामा दिदीबहिनीहरू दाजुभाइको व्यग्र प्रतिक्षामा बसेका र यसबाट दाजुभाइ र दिदीबहिनीबीचको प्रगाढ स्नेह र ममता झल्किने थारु महिला सलिना चौधरीले बताए ।

दिदीबहिनीले समेत दाजुभाइलाई आफ्नो घरबाट विभिन्न खाद्य सामग्री तथा नयाँ लगाु कपडा दिएर पठाउने चलन यस समुदायमा रहेको पाइन्छ ।

आईतवार दिनभरी ब्रत बसेका दाजुभाईहरु राती भोलीपल्ट अर्थात सोमवार विहानै विवाहित दिदि बहिनीहरलाई कोशेली लगेर दिने र संगै बसेर सुख दुखका कुराहरु एक आपसमा वाड्ने चलन समेत रहेको थारु अगुवा महिला लिला देवी चौधरी बताउँछन् ।

यो पर्व विशेष गरी कञ्चनपुरसहित थारु बसोबास रहेका दाङ, कैलाली, बर्दिया र बाँकेलगायतका क्षेत्रमा मनाउने गरिन्छ ।

Himal dental
सम्बन्धित
Loading...