भारतीय राजदूत श्रीवास्तव महेन्द्रनगरमा, नेपाल भारत मैत्री संघले बुझायो तीन बुँदे ज्ञापन

महेन्द्रनगर । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव महेन्द्रनगर आएका छन् । आइतबार साँझ उनी महेन्द्रनगर पुगेका छन् । बेलौरीमा भारतीय राजदूतावासको सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन गरी उनी महेन्द्रनगर पुगेका हुन् । 

राजदूत श्रीवास्तवलाई नेपाल भारतमैत्री संघले साँझ होटल ओपेरामा भेटेर सीमा क्षेत्रका समस्या समाधान सहितको तीन बुँदे माग राखेर ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबीको व्यवहारमा सुधार, नेपालबाट तेस्रो मुलुकका पर्यटकलाई भारत प्रस्थान हुन दिने र ब्रह्मदेब टकनपुर नाकालाई धार्मिक नाका बनाउन पहल गरि दिनु पर्ने माग राखिएका छन् ।

संघका कार्य वाहक अध्यक्ष कृष्ण प्रसाद पाठकको नेतृत्वमा राजदूत श्रीवास्तवलाई ज्ञापन बुझाइएको छ । राजदूल श्रीवास्तवलाई विद्यालय भवन निर्माण, एम्बुलेन्स, सडक निर्माण लगायतका कार्यमा गर्दै आएको सहयोग निरन्तरताका लागि पनि आग्रह गरिएको छ ।

संघले भारतले हालै जी २० शिखर सम्मेलन सम्पन्न गरेकोमा बधाई समेत दिएको छ ।

संघका कार्य वाहक अध्यक्ष पाठकले राजदूत श्रीवास्तवसित भेटघाटका क्रममा उनलाई नेपाल र कञ्चनपुर दुबैका लागि अविस्मरणीय बनाउन आग्रह गरिएको बताए ।

उद्यमी व्यवसायीले आइतबार विहान ब्रह्मदेबमा ब्रह्मदेब टनकपुरलाई धार्मिक नाका बनाउन छलफल गरी दुबै देशसित पहल गर्न समिति बनाएको छ । धार्मिक नाका बनाउन छलफल गरिएको दिन राजदूत श्रीवास्तवलाई पनि पहलका लागि आग्रह गरिएको छ ।

राजदूत श्रीवास्तवले सोमबार विहान दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण स्थल स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

सम्बन्धित
Loading...