रोयल्टी ठेक्का लगाउने हिम्मत नभएको भन्दै भीमदत्तका मेयर बोगटीको चर्को आलोचना, नगरपालिका छाडेर बाहिर निस्कन काँग्रेसकै नेता कार्यकर्ताको सुझाव
महेन्द्रनगर । महाकाली नदीको नदीजन्य पदार्थ उत्खनन ठेक्का लगाउन नसकेपछि भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी विवादमा तानिएका छन् । मेयर बोगटीको अहिले चौतर्फी आलोचना हुन थालेको छ ।
उनी आफ्नै पार्टी काँग्रेसका नेता कार्यकर्ता उनी विरुद्ध खुलेर लागेका छन् । काँग्रेसका जिल्ला सभापति बोगटीलाई उनलाई कार्यकर्ताले ठेक्का लगाउन नसकेर बस्न भन्दा नगरपालिकाबाट बाहिर निस्कन व्यङ्ग्यात्मक रुपमा सुझाव दिएका छन् ।
भीमदत्त नगरपालिकाले यस वर्ष पनि महाकाली नदीमा रोयल्टी ठेक्का लगाउन नसकेपछि मेयर बोगटीको विरोध भएको हो । गत वर्ष अमानतबाट थोरै राजश्व संकलन भएपछि यस वर्ष ठेक्का लगाउन नगरपालिकामाथि दबाव परेको थियो । यस वर्ष पनि अमनातबाट राजश्व संकलन गर्ने तयारी गरिएपछि कार्यपालिका सदस्य विरोधमा उत्रिएका हुन् ।
काँग्रेसबाट निर्वाचित कार्यपालिका सदस्य पदमराज अवस्थीले मेयर बोगटीको अमानतमा राजश्व संकलनको सोमबार विहान विरोध गरेका थिए । उनको विरोध व्यापक भएर अहिले चौतर्फी फैलिएको छ ।
कार्यपालिका सदस्य अवस्थीले अमानतमा रोयल्टी संकलन गर्न ठूलो भ्रष्टाचार भएको भन्दै आफूले पटक पटक ठेक्का लगाउन दबाव दिए पनि वेवास्ता गरिएको गुनासो गरेका थिए ।
स्थानीय तह निर्वाचनमा निर्वाचित अवस्थी काँग्रेस निर्वाचन क्षेत्र नं. ३ (क) प्रदेश सभा सभापति हुन् । उनले फेसबुकमा विरोध गरेपछि सोमबार मेयर बोगटी प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौलीलाई लिएर सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालय गएका थिए ।
भीमदत्त नगरपालिका १३ का निवर्तमान वडा अध्यक्ष लाल बहादुर शाहीले मेयर बोगटीलाई ठेक्का लगाउन नसकेर बस्न भन्दा नगरपालिकाबाट बाहिर निस्कन राम्रो हुने सुझाव दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकबाट ठेक्का लगाउन हिम्मत समेत नभएको भन्दै मेयर बोगटीको आलोचना गरेका छन् ।
भीमदत्त नगरपालिका नेतृत्व मेयर बोगटी आएपछि महाकाली नदी सहित अन्य सबै खोलाको रोयल्टी राजश्व अमानतबाट संंकलन गरिएको छ । उनी आउन अघि ठेक्का दिएर राजश्व संकलन गरिएको थियो ।
भीमदत्त नगरपालिकाले गत वर्ष महाकाली नदीमा अवैध रुपमा अमानतबाट राजश्व संकलन गरेको थियो । महाकाली नदीको वातावरणीय प्रभाव मूल्याङ्कन (इआए) नगरी राजश्व संकलन गरिएको हो ।
इआए नगरी अमानतबाट राजश्व संकलन गर्ने नगरपालिकाको कार्य विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अख्तियारले गत वर्ष सबै कागजात मगाएको थियो ।
भीमदत्त नगरपालिकाका नगर प्रवक्ता महेन्द्र खड्काले भने कार्यपालिका सदस्य अवस्थीले अमानतमा रोयल्टी संकलनमा गरेको विरोधबारे आफूलाई थाहा नभएको बताए । ‘वहाँले के भन्नु भएको छ, किन भन्नु भयो, त्यो थाहा भएन’ उनले भने,‘अहिले अमानमा संकलन गरिएको होइन, घाट नै खोलिएको छैन, इआए स्वीकृत भएपछि ठेक्का लगाउँछौ ।’
कार्यपालिका सदस्य अवस्थीले सोमबार अमनानतमा रकम उठाउने कार्यलाई ठूलो भ्रष्टाचार भन्दै आक्रोश पोखेका थिए ।
‘भीमदत्त नगरपालिकामा विगतका कर्मचारीले कोरोनाको बेला समस्या परेको बेला कर छुट गरेर भ्रष्टाचारको मुद्दा लाग्छ भने अहिलेका कर्मचारीहरुले टेण्डर ननिकालेर अमानतमा काम गर्छन् भने यो सबभन्दा ठूलो भ्रगटाचार हो’ अवस्थीले भनेका छन्,‘चाँडो भन्दा चाँडो टेण्डर प्रक्रियामा जाँदा राम्रो, कार्यपालिका बैठकमा पटक पटक कुरा राख्दा सुनुवाई नभएपछि अमानतमा कर उठाउने कुरामा मेरो सहमत छैन ।’
अघिल्लो वर्षसम्म ५ करोड हाराहारी राजश्व संकलन गरिएकोमा गत वर्ष अमानतबाट एक करोड २० लाख मात्रै संकलन भएको छ । महाकालीको रोयल्टीमा दुई वर्षको राजश्वमा ठूलो अन्तर देखिएपछि अनियमितताको व्यापक आशंका गरिएको छ ।