महेन्द्रनगर । चौतर्फी आलोचना भएपछि भीमदत्त नगरपालिकाले महाकाली नदी बाहेक अन्य खोला नालाको नदीजन्य पदार्थ संकलन(रोयल्टी ) ठेक्का लगाउने भएको छ । भीमदत्त नगरपालिकाको राजश्व परामर्श समितिको बैठकले आइतबार चालु आर्थिक वर्षका लागि ठेक्का लगाउने निर्णय गरेको हो ।
महाकाली नदी सहित खोला नालामा ठेक्का लगाउन नसकिएपछि अहिले नदीजन्य पदार्थ उत्खनमा रोक लगाइएको छ । महाकाली नदीमा ठेक्का नगरी अमानतबाट रोयल्टी संकलन गर्न लागिएको भन्दै विरोध भएपछि अनिश्चतकालनका लागि रोक्का गरिएको हो ।
राजश्व परामर्श समितिले प्रारम्भिक वातावरणी परीक्षण(आइइई) गरिएका खोला नालामा ठेक्का लगाउने निर्णय गरेको हो । गत वर्ष आइइई गरिएका ती खोलानालाबाट पनि अमानतमा राजश्व संकलन गरिएको थियो ।
भीमदत्तको राजश्व परामर्श समितिका संयोजक उप मेयर निलम लेखक जोशीले आइइई गरिएका सबै खोलानालामा ठेक्का लगाउने निर्णय गरिएको बताइन् ।
‘आज राजश्व परामर्श समितिको बैठक बस्यो, त्यसले ठेक्का लगाउने निर्णय गरेको छ’ उनले भनिन्,‘हाकिम साप विदा हुनु हुन्छ, वहाँ आएपछि सार्वजनिक सूचना गरी ठेक्का प्रक्रियामा अघि बढ्छौ ।’
उप मेयर जोशीले महाकाली नदीमा पनि आइइईका लागि प्रक्रिया अघि बढेकाले छिटो ठेक्का लगाउने गरी अघि बढेको बताइन् ।
भीमदत्त नगरपालिकाले गत वर्ष महाकाली नदीको इआए र ब्रह्मदेब महाकाली, रौटेला खन्ने खोला, गहताडी खोला, कामीकाटे खोलाको आइइईका लागि सम्झौता गरेको थियो । महाकाली नदीको इआए प्रतिवेदन स्वीकृतका लागि सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयमा पेश गरिएको छ । इआएका लागि १७ लाख बढीमा सम्झौता गरिएको थियो ।
ब्रह्मदेब महाकाली सहितका पाँच खोलाको आइइईका लागि २४ लाख ३८ हजार खर्च गरिएको छ । भीमदत्त नगरपालिकाले गत वर्ष आइइई गरी दुई वर्षका लागि प्रतिवेदन स्वीकृत गरको थियो ।
भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीले केही दिन नदीजन्य पदार्थको उत्खनन, संकलन र बिक्री वितरण रोक सम्बन्धि सार्वजनिक सूचनामा महाकालीको इआए मन्त्रालयमा अध्ययनको क्रममा रहेको र आइइई पुनरावलोकन भई रहेको उल्लेख गरिएको थियो ।
आइइई पुनवलोकन थालिएको पाँच खोलामा आइतबार ठेक्का लगाउने निर्णय गरिएको हो । आईइई गरिएका खोला नालामा समेत ठेक्का व्यवस्थापन नगरी भीमदत्तले अमानतबाट राजश्व संकलन गर्न खोजेको पुष्टि भएको छ ।
असोज १ गतेदेखि नदी खोला नालामा नदीजन्य पदार्थको उत्खनन खुल्ने गरेको छ । भीमदत्तमा नदीजयन्त पदार्थ उत्खनन रोक लगाइएको छ ।
भीमदत्तको नदीजयन्य पदार्थ उत्खननमा रोक लगाउने निर्णय विरुद्ध निर्माण व्यवसायीले नगरपालिका कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।
भीमदत्त नगरपालिकाले गत वर्ष महाकाली नदी सहित सबै नदी खोलानालाबाट अमानतमा २ करोड १७ लाख मात्रै राजश्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षमा यो राजश्व रकम ६ करोड भन्दा बढी संकलन गरिएको थियो ।