महेन्द्रनगर । बेलौरी नगरपालिका ६ का वडा अध्यक्ष भोजराज चौधरी पक्राउ अनुमति विना रुख कटान गरेको आरोपमा पक्राउ गरिएका छन् ।
बेलौरीस्थित वर्षौदेखि बन्द छोटी भन्सार क्षेत्रमा केही दिन अघि गरिएको सरसरफाईका क्रममा काटिएका रुखलाई लिएर वडा अध्यक्ष चौधरीलाई पक्राउ गरिएको हो ।
वर्षाैदेखि बन्द भन्सार सञ्चालन हुने भएपछि केही दिन अघि वडा कार्यालयको अगुवाईमा क्लब सहित स्थानीयले सरसफाई गरेका थिए । त्यस क्रममा केही रुख काटिएका थिए ।
सरसफाइको क्रममा काटिएका रुखलाई लिएर डिभिजन वन कार्यालयले वडा अध्यक्ष चौधरीलाई पत्र पठाएको थियो । डिभिजन वनको पत्रका आधारमा जवाफ दिन आएका चौधरीलाई पक्राउ गरी हिरासतमा राखिएको हो ।
२०७९ को स्थानीय तह निर्वाचनमा उनी नेकपा एमालेबाट वडा अध्यक्ष निर्वाचित भएका थिए । भन्सार क्षेत्र सरसफाई कार्यक्रममा उप मेयर जोगराम चौधरी लगायतका अन्य जनप्रतिनिधि, स्थानीय सहभागी भएका थिए ।
सरसफाईमा सहभागी उप मेयर चौधरीले आफूले पनि रुख नकाट्न सल्लाह दिएको प्रतिक्रिया दिएका छन् । सरसफाईका क्रममा भन्सार क्षेत्रमा रुख काटिएपछि उनी विरुद्ध डिभिजन वन कार्यालयमा उजुरी दिइएको थियो । त्यस उजुरीका आधारमा डिभिजनले उनलाई रुख कटान सम्बन्धि पत्र पठाएको थियो ।
डिभिजन वनले हिरासतमा राखेर चौधरीमाथि अनुसन्धान अघि बढाएको छ । डिभिजन वन कार्यालय स्रोतका अनुसार उनीमाथि अनुमति नलिई रुख कटान गरेको आरोपमा अनुुसन्धान गरिने भएको छ ।
डिभिजन वन कार्यालयमा नयाँ प्रमुख भीम प्रसाद कँडेल आएपछि पहिलो पटक अवैध काठ कटान आरोपमा जनप्रतिनिधि पक्राउ गरिएका छन् । कँडेल गत महिना मात्रै बैतडीमा डिभिजन प्रमुख भएर आएका हुन् ।