एमालेको सुदूरपश्चिम अधिवेशनका लागि कञ्चनपुरमा प्रतिनिधि छनौट सुरु, प्रतिनिधि चुनाव लड्न डराए अधिकाँश प्रदेश कमिटी सदस्य
महेन्द्रनगर । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि जिल्लाभर प्रतिनिधि छनौट प्रक्रिया सुरु भएको छ । सोमबार विहानदेखि ८ स्थानीय तह, विशेष इलाका र दलित निर्वाचन क्षेत्रमा प्रतिनिधि छनौट सुरु गरिएको छ ।
ती सबै क्षेत्रमा प्रदेश अधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दर्ता गरिएका छन् । कञ्चनपुरबाट एमालेका ६३ अधिवेशन प्रतिनिधि चयन हुन लागेका छन् । सबैभन्दा बढी कृष्णपुर नगरपालिकबाट ९ र लालझाडीबाट एक जना प्रतिनिधि चयन हुने गरिनेछ ।
विहान उम्मेदवारी दर्तापछि नेताहरु सर्वसम्म प्रतिनिधि चयनका लागि छलफलमा लागेका छन् । केही स्थानीय तहमा यस अघिदेखि सर्वसम्मत प्रतिनिधि बनाउन छलफल थालिएका थिए ।
भीमदत्त नगरपालिकामा ८ प्रदेश अधिवेशन प्रतिनिधिका लागि १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । भीमदत्तबाट खुला ४, महिला ३ र युवा १ जना प्रतिनिधि चयन हुने छन् । यसमा खुलामा ८, महिला ६ र युवामा २ जनाको उम्मेदवारी परेको छ ।
खुल्लामा बिष्णु प्रसाद कँडेल, कर्ण बहादुर चन्द, महेश प्रसाद पन्त, परमानन्द जोशी, विष्णु अवस्थी, हिरा चन्द, कृष्ण प्रसाद जोशी र रविन्द्र कुँबर उम्मेदवार छन् ।
महिलामा दुर्गादेवी भट्ट, लक्ष्मी विश्वकर्मा, कमला भट्ट, नन्दादेवी धामी, चन्द्रा कुमारी खड्का र गीता ओली तथा युवामा प्रशान्त भट्ट र नितेश रावल उम्मेदवार छन् । निर्वाचन समितिले १२ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिएको छ ।
भीमदत्तमा एमालेका ७ सय ५४ संगठित सदस्य छन् । एमालेको अहिलेको सुदूरपश्चिम प्रदेश कमिटीमा भीमदत्तका १८ जना प्रदेश सदस्य छन् । प्रदेश कमिटी सदस्यमध्ये अहिले चार जना मात्रै प्रदेश अधिवेशन प्रतिनिधिका लागि मैदानमा देखिएका छन् ।
एमाले पार्टी कार्यालयमा अहिले उम्मेदवारबीच सहमतिका लागि छलफल थालिएको नेताहरुले बताएका छन् ।
सहमति नभए दिउँसो चुनाव गर्ने तयारी गरिएको नेताहरुले बताए । उनीहरुका अनुसार सहमतिको प्रयास गरिए पनि सहमति हुने सम्भावना धेरै कम भएकाले निर्वाचन तयारी पनि अघि बढाइएको छ ।