
महेन्द्रनगर । भीमदत्त नगरपालिकाले चार खोलामा नदीजन्य पदार्थको उत्खननका लागि ठेक्का आव्हान गरेको छ । असोज १ गतेदेखि नदी तथा खोला नालाबाट नदीजन्य पदार्थ उत्खन्न कार्य सुरु हुनु पर्नेमा भीमदत्तमा असोज दोस्रो साता मात्रै ठेक्का आव्हान गरिएको हो ।
भीमदत्तले रौटेला खोला, गौताडी खोला, खन्या खोला र भिमारीगाड खोलाको ढुङगा, गिट्टी, बालुवा तथा ग्राभेल उत्खनन, बिक्री र संकलन (रोयल्टी) ठेक्का आह्वान गरेको छ । काठमाडांैबाट प्रकाशित पत्रिकामा ठेक्का आव्हान गरिएको सूचना प्रकाशन गरिएको छ ।

भीमदत्त नगरपालिकाका इन्जिनियर दिपेन्द्र जोशीका अनुसार रौटेला, गौताडी, खन्या र भिमरीगाड खोलाको रोयल्टी ठेक्का लगाउन मंगलवार १५ दिने सूचना आह्वान गरिएको बताए । केही दिनपछि महाकाली नदिको रोल्यटी ठेक्का समेत खाल्ने गरी काम भइरहेको उनले बताए ।
यस अघि यी चार खोला सहित महाकाली नदीबाट अमानमा रोयल्टी संकलन गर्ने तयारी गरिएपछि चौतर्फी विरोध भएको थियो । भीमदत्त नगरपालिका कार्यपालिका सदस्य पदमराज अवस्थीले अमानतमा रोयल्टी संकलन गर्न ठूलो भ्रष्टचार भएको भन्दै विरोध गरेपछि मेयर पदम बोगटीमाथि चौतर्फी दबाव परेको थियो । त्यसपछि नगरपालिकाले ठेक्का नलगाउँदासम्म नदरुीजन्य पदार्थको उत्खनमा रोकन लगाएको थियो ।
अहिले महाकाली नदीमा ठेक्का लगाउन आइइई प्रक्रिया अघि बढाइएको छ । त्यसका लागि नगरपालिकाले सार्वजनिक सुनुवाईको तयारी गरेको छ ।
भीमदत्त नगरपालिकाको नेतृत्वमा बोगटी आएपछि पहिलो पटक नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का गरिएको हो । बोगटीले २०७९ जेठ ९ गते पदभार ग्रहण गरेका थिए ।
उनले पहिलो वर्ष महाकाली सहितका नदी तथा खोलाबाट अमानतमा राजश्व उठाएका थिए । गत वर्ष महाकाली सहित सबैबाट २ करोड १७ लाख राजश्व संकलक भएको छ । यस वर्ष पनि अमानतमा संकलनको तयारी गरिएको थियो ।
