महेन्द्रनगर । बैतडीको शिवनाथ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी फेरि नरेन्द्रसिंह महतालाई दिइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बढीमा दुई महिनाका लागि महतालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो ।
गाउँपालिकामा खटाएका प्रमुख प्रशासकीय अधिकृत सुशीलकुमार शाहको २० दिन नपुग्दै सरुवा भएपछि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन भएको थियो । असोज १ गते पालिकामा हाजिर भएका शाह असोज १९ गते पालिकाबाट सरुवा भएर गएका थिए ।
प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका महताले शाह आउनुभन्दा पहिला पनि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बैतडीका ५ ओटा गाउँपालिकामा गएको भदौमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाएको थियो ।
ती मध्ये डिलाशैनी गाउँपालिका, शिवनाथ गाउँपालिका र सिगास गाउँपालिकामा खटिएका प्रमुख प्रशासकीय अधिकृतहरुको २० दिन नपुग्दै सरुवा भएको छ । पञ्चेश्वर गाउँपालिकामा खटिएका उज्जवल आनन्द पालिकामा हाजिर नहुँदै सरुवा भएका छन् ।
नयाँ खटिएका मध्ये दोगडाकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रप्रसाद थारुको मात्रै सरुवा भएको छैन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतहरुको मनलाग्दी सरुवा गर्दा आफूहरुलाई काम गर्न निकै असहज हुने गरेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए ।