
महेन्द्रनगर । भीमदत्त नगरपालिका–३ का विपिन जोशीको परिवार चिन्तामा डुबेको छ । शनिबारपछि छोरासँग सम्पर्क नभएकाले आमा पदमा निकै चिन्तामा छिन् ।
शिक्षण पेशामा संलग्न उनका आमाबुबा बैतडीको रिमबाट केही वर्षअगाडि भीमदत्त नगरपालिका–३ मा बसाइँ सरेका थिए। आमा पदमा बेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित उदयदेव माध्यमिक विद्यालयमा पढाउछिन् ।

बुबा शिक्षणको क्रममा बझाङमा छन् । आमा र छोरी मात्रै भीमदत्त नगरपालिका–३ मा बसोबास गर्छन् । विपिन गत भदौ अन्तिम साता ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत् इजरायल गएका थिए ।
शनिबारदेखि बेपत्ता उनको अवस्था अझै अज्ञात छ । परिवारले चाँडो खोजी उद्धार गरेर घर फिर्ता ल्याउन सरकारलाई आग्रह गरेको छ । इजरायलविरुद्ध प्यालेस्टाइनी विद्रोही समूह हमासले गरेको आतङ्कवादी आक्रमणमा १० नेपाली विद्यार्थी मारिएका छन् ।
मृतकको शव नेपाल पठाउनका लागि इजरायल सरकारसँग आवश्यक समन्वय गरिरहेको नेपाली दूतावासले जनाएको छ । मारिनेमा घोडाघोडी नगरपालिका–४ का नारायणप्रसाद न्यौपाने, जयपृथ्वी नगरपालिका–६ बझाङका गणेशकुमार नेपाली, बौनिया–३ कैलालीका आशिष चौधरी, लेकम–५ दार्चुलाका दीपेशराज बिष्ट, पाचनली–३ डोटीका राजन फुलरा, लमिखल–८ डोटीका पदम थापा र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामी छन् ।
स्थानीय अस्पतालमा टीकापुर–९ कैलालीका धनबहादुर चौधरीको उपचार भइरहेको छ । साथै भीमदत्त नगरपालिका–३ कञ्चनपुरका विपिन जोशी बेपत्ता छन भने त्रिशक्ति–४ भजनी कैलालीका वीरेन्द्र चौधरी सुरक्षित छन् ।
ती विद्यार्थीहरू गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा पुगेका थिए ।
