
महेन्द्रनगर । एमालेको सुदूरपश्चिम प्रदेश अध्यक्षका उम्मेदवार बचन बहादुर सिहले पार्टीलाई बलियो बनाउन आफूले उम्मेदवारी दिएको बताएका छन् । प्रदेश अध्यक्षमा उम्मेदवारी दर्तापछि उनले पार्टीका समूह र गुटबन्दी विरुद्ध आफ्नो उम्मेदवारी भएको बताएका हुन् ।
‘मेरो उम्मेवारी समूह र गुटबन्दी विरुद्ध हो,’ उनले भने,‘मतदाताले मलाई विश्वास गरी अध्यक्ष बनाउनेमा विश्वस्त छु ।’ उनले आफू युवाको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा आएकाले सबैले विश्वास गर्ने बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरलेले नै सर्वसम्मत बनाउने चाहना राखेको उल्लेख गर्दै सर्वसम्मत नेतृत्वका लागि आफू सधैै तयार भएको बताए ।
एमालेको सुदूरपश्चिम प्रदेशमा सिह केन्द्रीय सचिव लेखराज भट्ट र निवर्तमान प्रदेश अध्यक्ष दामोदर भण्डारीका समूहका हुन् । अहिले भट्ट र भण्डारीले पनि छुट्टै समूह बनाएका छन् ।
सिंहले उम्मेदवारी घोषणाका लागि गरेको पत्रकार सम्मेलनमा युवाहरूको प्रतिनिधित्व गर्दै आफू अध्यक्षको उम्मेदवार हुने घोषणा गरेका थिए । उनले प्यानल नबनाएर चुनाव लड्ने घोषणा गरेका थिए ।
पार्टीको मूल नेतृत्वले लिएको नीतिलाई कार्यान्वयन गर्दै प्रदेशमा पार्टीलाई एकताबद्ध र सुदृढ गर्न उम्मेदवारी भएको उनले बताए ।
