ghar sansar

बेदकोटका जनताले किन छाने होलान यस्ता जनप्रतिनिधि

Amity

महेन्द्रनगर । बेदकोट नगरपालिका ३ दैजीस्थित निर्माणाधिन १५ शैय्याको नगर अस्पतालको काम सुरु गर्नका लागि आयोजना गरिएको छलफल कार्यक्रममा बेदकोट नगरपालिकाका दुई वडा अध्यक्ष सहभागी भएका छन् ।

नगर अस्पताल संघर्ष समितिले शुक्रबार विहान बेदकोट नगरपालिकाको सभा कक्षमा गरेको कार्यक्रममा सहभागिताका लागि जनप्रतिनिधि र राजनीतिक दललाई आमन्त्रण गरेको थियो । त्यसमा बेदकोट नगरपालिका ३ का वडा अध्यक्ष मोहन गुरुधामी र ९  का  वडा अध्यक्ष जनक विष्ट बाहेक अन्य सबै अनुपस्थित भएका छन् ।

lotus institite

बेदकोटका मेयर भोजराज बोहरा र उप मेयर तुलसी पनि कार्यक्रममा सहभागी भएनन् । सभा कक्षमा कार्यक्रम सञ्चालन हुँदा उप मेयर जोशी कार्यकक्षमा थिइन् । मेयर बोहरा नगरपालिका कार्यालय बाहिर थिए ।

बेदकोट नगरपालिकाका केही कर्मचारी भने कार्यक्रममा सहभागी भए । मेयर बोहराले कार्यक्रमबारे थाहा नभएकाले सहभागी हुन नसकेको बताएको संयोजक नाथले बताए ।

‘सबै वडाका जनप्रतिनिधि र नगर स्तरीय दलसित छलफल गर्न कार्यक्रम राखेका थियौ, तर दुई वडा अध्यक्ष बाहेक अरु आउनु भएन’ उनले भने,‘मेयर सापले जानकारी नभएको बताउनु भो, उप मेयर साप त हामीले छलफल गर्दा त्यही नजिक कार्यकक्षमा हुनु हुन्थ्यो, तर पनि आउनु भएन ।’

समितिका संयोजक नाथले मेयर बोहरालाई प्रमुख प्रशाकीय अधिकृत मार्फत आमन्त्रण गरिएको बताए । छलफलमा सहभागी हुन नसकेका मेयर बोहरालाई शनिबार अस्पताल निर्माण स्थलमा गरिएको कार्यक्रममा आफूले आमन्त्रण गर्ने संयोजक नाथले बताए ।

छलफल कार्यक्रममा काँग्रेसका नेता समेत सहभागी भएनन् । काँग्रेसका बेदकोट नगर सभापति तुला शाहु लगायतका नेता नगरपालिका कार्यालय भए पनि छलफलमा सहभागी नभएर फर्किएका छन् ।

नेकपा माओवादी केन्द्रका मिनराज गिरी, एमालेका हरि गिरी, हिक्मत बहादुर सिह र राष्ट्रिय स्वतन्त्र पार्टीका तेज ठकुल्लाले छलफलमा सहभागी भएर नगर अस्पताल निर्माणका लागि गरिने सबै कार्यक्रममा सहभागी हुने प्रतिवद्धता जनाए ।

‘एक चरणको दबावले बाउन्ड्री वाल बनायो, त्यसपछि भदौमा काम सुरु गर्छौ भनेर गएका थिए, अहिलेसम्म सुरु भएको छैन’ संघर्ष समितिका संयोजक नाथले भने,‘त्यसका लागि आज नगरपालिकामा छलफल राखेका हौ, अपेक्षा अनुसार सहभागिता नभएकाले भोलि त्यहाँ स्पटमा स्थानीयसित छलफल गरी आन्दोलनमा जान्छौ ।’

स्थानीयसित छलफल गरी नगर अस्पताल निर्माण कार्य थालनीका लागि शान्तिपूर्ण आन्दोलनका कार्यक्रम घोषणा गरिने संयोजक नाथले बताए ।

बेदकोट नगरपालिका र राजेन्द्र निर्माण सेवाबीच २०७८ बैशाख २२ गते दुई वर्षमा निर्माण कार्य पूरा गर्ने गरी ९ करोडमा ७४ लाखमा ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले सम्झौता अवधिको दुई वर्षमा अस्पतालको अधुरो पर्खाल निर्माण गरेको छ ।

२०८० बैशाख २५ गते ठेक्का सम्झौता म्याद सकिएपछि नगरपालिकामा म्याद थपका लागि निवेदन दिइएको छ । अहिलेसम्म नगरपालिकाले म्याद थप गरिएको छैन ।

नगरपालिकासित सम्झौता अनुसार अस्पताल निर्माण सुरु नभएपछि गत बैशाखमा स्थानीय नाथको संयोजकत्वमा संघर्ष समिति गठन गरी दबाव दिइएको थियो । त्यसपछि अस्तपताल निर्माणका लागि पर्खाल बनाउन सुरु गरिएको थियो ।

संघर्ष समितिका संयोजक नाथले ठेकेदार कम्पनीले सम्झौता अवधिसम्म अस्पताल निर्माणको काम समेत सुरु नगरेपछि दबावका लागि संघर्ष समिति गठन गरिएको बताए ।

‘दुई वर्षसम्म अस्पताल बन्छ भन्ने थियो, त्यसैको आशमा बसेका थियौ’ उनले भने,‘ठेक्काको म्याद सकिँदासम्म काम सुरु नै नभएपछि संघर्ष समिति गठन गरी अघि बढेका हौ ।’

संघर्ष समितिका संयोजक नाथले नगर अस्पताल बेदकोटका वासिन्दाका लागि आवश्यक भएकाले छिटो सञ्चालनमा ल्याउनु पर्ने गरी दबाव दिइने बताए ।

‘संविधानमा स्वास्थ्यलाई मौलिक हकको व्यवस्था छ, यो अस्पताल बनेर जनताले सहज रुपमा स्वास्थ्य सेवा पाउनु पर्छ’ उनले भने,‘अस्पताल निर्माणमा गरिएको लापरवाहीले जनताको स्वास्थ्य अधिकारमाथि खेलवाड गरिएको छ, यस विरुद्ध हामी निरन्तर खबरदारी गर्छौ ।’

बेदकोट नगरपालिका ३ दैजीस्थित शारदा माध्यमिक विद्यालयको भोगलचनमा रहेको १२ कट्टा जमिनमा नगर अस्पताल बनाउन थालिएको हो । ठेकेदार कम्पनीले ठेक्का सम्झौतापछि ८५ लाख मोबिलाइजेशन रकम लगेको थियो ।
बेदकोट नगरपालिका ३ का वडा अध्यक्ष धामीले बेदकोट नगरपालिकाले अस्पताल निर्माण कार्यलाई प्राथमिकता दिएर अघि बढेको बताए ।

‘यो नगर अस्पताल निर्माण कार्यलाई सुरुदेखि प्राथमिकता दिएका छौ, चुनाव जितेर आएपछि साइड क्लियर गराएर निर्माण सूरु भयो’ उनले भने,‘ पटक पटक गरी ५ पटकसम्म त काम सुरु गर्नका लागि ठेकेदारलाई पत्र पठायौ, दुई पटक मेयर साप म नै कम्पनीको अफिस गरेर समेत कुरा गरेका छौ ।’

वडा अध्यक्ष धामीले ठेकेदार कम्पनीले सम्झौता अनुसार अस्पताल निर्माण गर्नु पर्ने सबै नगर वासिन्दाको माग भएको बताए । ‘अस्पताल चाहिन्छ, त्यो छिटो हुनु पर्ने हामी सबै वासिन्दाको माग हो’ उनले भने ।

बेदकोट नगरपालिकाले ठेकेदार कम्पनीलाई म्याद थपका लागि सक्कली कागजात पठाउन पत्रचार गरेको छ । कार्यालयमा म्याद थपका लागि निवेदन आएपछि कागजात माग गरिएको नगरपालिकाका कर्मचारीले बताए ।

Himal dental
सम्बन्धित
Loading...