महेन्द्रनगर । शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिडिमेड कञ्चनपुरको ११ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिह रावलले उद्घाटन गरेको साधारण सभा बन्द सत्रबाट आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम पारित गरी सकिएको हो ।
बन्द सत्रबाट वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन सहित नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गरिएको सहकारीका सचिव हर्क बहादुर चन्दले बताए । सहकारीका अध्यक्ष बहादुर चन्दले उद्घाटन सत्रमा सहकारीको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सहकारीका अध्यक्ष चन्दको अध्यक्षतामा गरिएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि निवर्तमान मुख्यमन्त्री रावलले सहकारीले समाजवाद उन्मूख राज्य व्यवस्थाको जग बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै सुखी नेपाली, समृद्ध नेपाल बनाउन सहयोगी भएको उल्लेख गरे ।
कार्यक्रममा एसइई परीक्षामा उत्कृष्ठ अंक ल्याउने तीन शेयर सदस्यका छोरा छोरीलाई नगद पुरस्कार प्रदान गरिएको छ । महेन्द्रनगर मावि (साधारण) का राकेश भण्डारी र साहिल बम तथा प्रभात विद्या निकेतनकी खुसी पाण्डेयलाई नगद पुरस्कार सहित पुरस्कृत गरिएको छ । उनीहरुलाई प्रमुख अतिथि रावलले नगद दुई हजार पाँच सय नगद सहित प्रमाण पत्र प्रदान गरे ।
२०७९ को एसइई परीक्षामा महेन्द्रनगर माविका भण्डारी र बम ३ दशमवल ७५ जीपीए र प्रभातकी पाण्डेय ३ दशमलव ७५ जीपीए ल्याएर उत्तीर्ण भएका हुन् । उनीहरुका अभिभावक सहकारीमा शेयर सदस्य छन् । सहकारीका सचिव हर्क बहादुर चन्दले एसइई परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने सहकारीका शेयर सदस्यका छोरा छोरीलाई बर्सेनी पुरस्कृत गर्दै आएको बताए ।
‘हरेक वर्ष एसइईमा उत्कृष्ठ नतिजा ल्याउने सहकारीका शेयर सदस्यका छोरा छोरीमध्ये एक जना छात्र र एक छात्रालाई पुरस्कार दिने गर्छाै, त्यस अनुसार यस वर्ष समान दुई जनाले समान अंक ल्याएकोले छात्रमा दुई जना र एक जना छात्रलाई पुरस्कार दिएका छौ’ उनले भने ।
यसै गरी कार्यक्रममा असल बचतकर्तामा सहकारीका निवर्तमान अध्यक्ष ध्रबुराज पण्डित, धना भट्ट पन्त, सर्वाधिक बचतमा बिमला भट्ट र उत्कृष्ठ ऋणीमा हासा थलाल धामीलाई सम्मान गरिएको छ ।
सहकारीले सेवा निवृत्त सहकारी आवद्ध शिक्षकलाई पनि सम्मान गरेको छ । उनीहरुमा चन्द्रकला पन्त, मोहनराज मिश्र, नवराज जोशी, मनिराज कलौनी छन् । सहकारीले निवर्तमान अध्यक्ष पण्डित सहित विरेन्द्र प्रसाद भट्ट, परशुराम पन्त, सुमित्रा थापा, दयाकृष्ण जोशी र मायादेवी पौडेललाई पनि सम्मान गरेको छ । उनीहरु सबैलाई दोसल्ला ओढाएपछि प्रमाण पत्र प्रदान गरी सम्मान गरिएको छ ।
२०६९ मा स्थापना गरिएको सहकारीमा २०८० असार मसान्तसम्म ५ सय ४७ शिक्षक शेयर सदस्य भएका छन् । सहकारीले गत आर्थिक वर्ष २०७९÷०८० को असारसम्म ३ करोड ३६ लाख ७० हजार निक्षेप संकलन र हालसम्म ३ करोड ९० लाख ऋण लगानी गरेको छ । सहकारीको शेयर पूँजी १ करोड ४३ लाख पुगेको छ । सहकारीमा एक लाख भन्दा बढी शेयर रकम भएका शिक्षक २३ जना छन् ।
सहकारीले जमिन खरिद गरी सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा भीमदत्त नगरपालिका १८ बागवानीमा कार्यालय भवन निर्माण गरी कारोबार सञ्चालन गरेको छ ।
उद्घाटन कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य भवानी चन्द, पेशागत महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भट्ट, शिक्षक संगठनका सुदूरपश्चिम प्रदेश सदस्य खिमा चन्द, नेफस्कुनका कार्यालय प्रमुख यम डागी, सहकारीका सल्लाहकारहरु ध्रबुराज पण्डित, जगदीश जोशी, नेपाल बुद्धिजीवि परिषद्का अध्यक्ष राजेन्द्र प्रसाद पाण्डेय, नेपाल शिक्षक संगठन कञ्चनपुरका सचिव उत्तम विष्ट लगायतले शुभ कामना मन्तव्य राखे ।
सहकारीका अध्यक्ष बहादुर चन्दको अध्यक्षतामा गरिएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदत्त भट्टले स्वागत मन्तव्य राखे । सहकारीका सचिव हर्क बहादुर चन्दले कार्यक्रम सञ्चालन गरेका थिए ।