

पप्पु गुरुङ्ग
महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनी नगरपालिका क्षेत्रमा सुझाव संकलन अभियानको सुरु गरेको छ । रास्वपाले शनिबारदेखि सुरु अभियान नगरपालिकाका सबै वडामा पुग्ने बताइएको छ ।
रास्वपाका दोधारा चाँदनीका संयोजक पुरन कुमालको संयोजकत्वमा अभियानको औपचारिक रुपमा सुरु भएको छ । दोधारा चाँदनी क्षेत्रमा विकासको कार्य, सरकार पक्षको कारणपछि पारिएका वडा तथा टोलहरु, दोधारा चाँदनी नगरपालिकाका बाढी प्रभावित क्षेत्र, वन्यजन्तु प्रभावित क्षेत्र, बिकासका सम्भावना भएका स्थान लगायत राजनीतिक विषयमा सुझाव संकलन गरिदै आएको रास्वपाका दोधारा चाँदनी संयोजक पुरन कुमालले बताए ।



अस्पतालमा आवश्यक औषधी नभएको, उपचारको उचित व्यवस्था नभएको, सडक मर्मत गर्न नसकेको, फोहोर व्यवस्थापन गर्न नसकेको, प्रर्याप्त मात्रामा पिउने पानीको कमी रहेको, रोजगारीको अभाव रहेको लगायत समस्याहरु समेत टिपोट गरिएको बताईएको छ । रास्वपाले आम निर्वाचन २०७९ को एक वर्ष र उप निर्वाचनपछि मतदाताप्रति आभार व्यक्त गर्न रास्वपाले ‘घरदैलो अभियान’ को थालनी गरेको हो ।
‘चुनावका बेला मात्र होईन निरन्तर घरदैलोमा पुगेर नेताले जनताको सल्लाह सुझाव लिनुपर्छ भनेर पार्टीले यो अभियान थालनी गरेका हो’ संयोजक कुमालले भने ।

रास्वपाका नेता तथा कार्यकर्ताहरुले दोधारा चाँदनी नगरपालिकाका सबै वडा तथा टोलहरुमा सुझाव फारामसंगै रिपोट कार्ड लिएर जनताको घर आंगनमा पुग्ने कार्यक्रम गर्दै आएका छन् । सुझाव फारम मार्फत रास्वपालाई प्रोत्साहित र खबरदारी गर्न रास्वपाले अनुरोध समेत गरेको छ् ।


