नेकपा एमालेका नेता महेश बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईबीच भएको झगडाले विस्तारै उग्र रुप लिने देखिएको छ । केही समय अघि मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई नेकपा एमालेका नेता महेश बस्नेतले कुटपिट गरेको समाचार बाहिरिएको थिायो । अब यही मंसिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाई र नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले एकै स्थानमा आन्दोलनको तयारी गरेका छन् । उनीहरुले मंसिर ७ गते काठमाडौंमा गर्ने कार्यक्रमको विषयलाई लिएर चिया पसलदेखि हरेक चोक गल्लीमा मात्र नभएर मिडियाहरुमा पनि निकै चर्चाको विषय बनेको छ । गृह प्रशासन पनि यही विषयमा दिनहु“ बैठक र छलफलमा व्यस्त छ ।
नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले भ्रष्टाचार र अनियमितता, राज्यको अकर्मण्यता, सामाजिक सद्भाव भड्काउने विरुद्ध आन्दोलन गर्न लागेको बताएको छ । युवा संघले कार्यक्रम राखेकै दिन मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि काठमाडौंमा नै जनप्रदर्शन गर्दैछन् । युवा संघ र प्रसाईंको आन्दोलन किन जुधेको विषयले विविध विश्लेषण भइरहेका छन् । राजसंस्था फर्काउने र नागरिक बचाउने नाममा दुर्गा प्रसाईले काठमाडौं केन्द्रित आन्दोलनको तयारी तीब्र पारेका छन् । देशका विभिन्न जिल्लाबाट काठमाडौं आउनका लागि सम्पर्क व्यक्ति नै तोकेर प्रचार–प्रसार चलिरहेको छ ।
सोही दिन युवा संघ मार्फत् एमालेले पनि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएपछि हिंसा भड्किने र त्यसको असर सिंगो मुलुकमा पर्न सक्ने देखिएको छ । एकातिर दुर्गा प्रसाईं र उनका समर्थक अनि अर्कोतिर एमालेको भ्रातृ संस्था युवा संघका कार्यकर्ता दुवैले थलो एउटै तोक्दा झडप हुने स्थिति देखिएपछि स्थानीय प्रशासनले निशेधाज्ञा लगाउनु परेको छ । मुलुक एकचोटी फेरि अशान्ति र दंगा फसादतिर होमिने संकेतहरु देखिन थालेको छ । नेकपा एमालेका नेता महेश बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईबीच रोपिएको झगडाको बिउ झांगिदै गएको अनुभूति हुन थालेको छ । राजनीति गर्ने व्यक्तिहरु मुक्का मुक्की गर्न थालेकै कारण मुलुकमा असहज परिस्थितिको सृजना हुन लागेको हो ।
नेकपा एमालेका नेता महेश बस्नेतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कुटेर निकै बहादुरी गरेको मूल्याङ्कन नेकपा एमालेले गरेको देखिन्छ । दुवै समूहबीच भिडन्तको सम्भावना देखेर पनि नेकपा एमालेले युवा संघका कार्यकर्तालाई सडकमा उतार्नु र त्यसको नेतृत्व महेश बस्नेतले नै गर्नुले नेकपा एमालेको नियतमाथि शंका गरिएको छ । दंगा फसाद र झडपले नअघाउने नेकपा एमाले २०४८ सालदेखि सदनदेखि सडकसम्म दंगा फसादमै व्यस्त रहि आएको छ । मुलुकको बागडोर समाल्ने जिम्मेवारी पाएको सरकारको अकर्मण्यताकै कारण राजतन्त्र फर्काउनेको संख्या उल्लेख्यनिय पुगेको छ । मंसिर ७ गते काठमाडौंमा गर्ने कार्यक्रममा झडप हुने हो भने त्यसको असर गणतन्त्रसम्म पुग्ने कुरामा ध्यान जाओस ।