
कृषि ज्ञान केन्द्रमा निमित्तको रजगज
मन्त्रालयका सचिव धामी भन्छन्– सरुवामा डिग्री हेरियो, तह हेएिन, जेटिए पढेर अधिकृत भएकालाई पठाएनौ
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले दरबन्दी अनुसार कर्मचारी पठाउन नसकेपछि नवौ तहको उप सचिव कार्यालय प्रमुख हुने कृषि ज्ञान केन्द्र फेरि निमित्तको भर परेको छ ।
गत वर्ष कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत डा. दिल बहादुर विष्टको अवकाश भएपछि उप सचिवको दरबन्दीमा अधिकृतले निमित्त भएर कार्यालय सञ्चालन गर्दै आएका हुन् । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तीन महिना अघि अधिकृतलाई सरुवा गरी कार्यालय प्रमुखर्लाई निमित्तलाई निरन्तरता दिएको हो ।

मन्त्रालयले बेदकोट नगरपालिका ३ सुन्दरपुुरस्थित तालिम केन्द्रबा गोविन्द सिजापतिलाई ज्ञान केन्द्रमा सरुवा गरी पठाएको हो । सातौ तहका उनी आएपछि निमित्त कार्यालय प्रमुख भएका छन् ।
सिजापति अघि एक वर्षसम्म दुई जनाले निमित्त प्रमुख भएर कार्यालय सञ्चालन गरि सकेका छन् । उनीहरुमध्ये हरि दत्त जोशी अहिले कार्यालयमा कार्यरत छन् भने अर्का जनकराज जोशी अवकाश भई सकेका छन् ।
गत वर्ष डा. विष्टको अवकाशपछि जनकराज जोशीलाई निमित्त प्रमुख दिइएको थियो । उनी अवकाश भएपछि फेरि जोशीले निमित्तको जिम्मेवारी पाएका थिए । सिजापति आउन अघिसम्म जोशी निमित्त कार्यालय प्रमुख थिए ।
कृषि ज्ञान केन्द्रका अधिकृत उनी अहिले सूचना अधिकारी समेत छन् । डा. विष्टको कार्यकालमा पनि उनी कार्यालयका सूचना अधिकारी थिए ।
कृषि ज्ञान केन्द्र सरुवाका लागि आठौं तहका कृषि अधिकृतले निवेदन दिए पनि मन्त्रालयले सातौ तहका सिजापतिलाई सरुवा गरी निमित्त प्रमुख बनाएको हो । ती आठौं तहका अधिकृतलाई ज्ञान केन्द्रमा सरुवा नगरी उनी भन्दा जुनियर सातौ तहका सिजापतिलाई निमित्त कार्यालय प्रमुख बनाउने गरी सरुवा गरिएको हो ।
अछाम पुख्र्यौलीका सिजापति सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल शाहको गृह जिल्लाको भएकाले उनलाई कार्यालय प्रमुख बनाउने गरी सरुवा गरिएको छ । उनलाई ज्ञान केन्द्रमा सरुवा गरी कार्यालय प्रमुख बनाउन कर्मचारी ट्रेड युनियनका केही नेताले मुख्यमन्त्री शाहसम्म लबिङ्ग गरेको मन्त्रालयका कर्मचारीहरु बताउँछन् ।
मन्त्रालयका सचिव डा. मदन सिह धामीले सिजापतिलाई तह नभएर डिग्रीको आधारमा सरुवा गरी कार्यालय प्रमुख बनाएको बताए ।
‘वहाँ डिग्री भएको मान्छे हो, अरु जस्तो जेटीए पढेर अधिकृत भएको होइन, त्यो विज्ञ केन्द्र हो, त्यसैले विज्ञ मान्छे चाहिन्छ भनेर नै पठाएको हो’ उनले भने,‘यसमा तहको कुरा हेरिएको होइन, डिग्री योग्यताको कुरा हेरिएको हो ।’
सुदूरपश्चिम उप सचिव स्तरको कृषि प्राविधिक नभएकाले दरबन्दी अनुसार पठाउन सकिने अवस्था नभएको धामीको भनाई छ । ‘उप सचिव स्तरको कुनै कर्मचारी नै छैन, त्यही भएर पठाउन सकिने अवस्था छैन’उनले भने,‘लोक सेवाले विज्ञापन गरी पूर्ति नगर्दासम्म पठाउन सम्भव नै छैन ।’
सुन्दरपुरस्थित तालिम केन्द्रमा कार्यरत उप सचिव स्तरका प्राविधिकलाई किन नपठाएको भन्न्ने प्रश्नमा भने सचिव धामीले उनको इच्छा नभएको प्रष्टीकरण दिए । सुन्दरपुर तालिम केन्द्रमा उप सचिव स्तरका गोकुल बोहरा प्रमुख छन् । गत वर्ष डा. विष्ट सरुवा भएपछि बोहरा ज्ञान केन्द्र सरुवा हुने चर्चा बाहिर आएका थिए ।
