महेन्द्रनगर । सशस्त्र प्रहरी बलले कञ्चनपुरमा सीमा स्तम्भहरूको मर्मत सम्भार सुरु गरेको छ । नेपाल भारतको सहमति अनुसार भारतीय प्रशासन सहितको उपस्थितिमा सोमबारदेखि पुनर्वास नगरपालिका– ११ डोकेबजारस्थित ७५३(१७१) नम्बर सीमापिलरदेखि मर्मत कार्य सुरु गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर शैलेश्वरी गणलाई सीमा स्तम्भ मर्मतको जिम्मेवारी दिइएको छ । सशस्त्र प्रहरीको सुदूरपश्चिम प्रदेश वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेले सरकारले दिएको जिम्मेवारीअनुरूप कञ्चनपुर, कैलालीका सीमा स्तम्भ सुरु गरिएको बताए । उनका अनुसार सन् २०१४ देखि निर्माण गरिएका सीमा स्तम्भको मर्मत थालिएको हो ।
‘सन २०१४देखि यता निर्माण भएका सीमास्तम्भको मर्मत, रंगरोगन एबम् पुनर्निर्माण गरिनेछ’ उनले भने, ‘सीमास्तम्भहरूको निर्माण मर्मतसम्भार र पुनस्र्थापना सम्बन्धी मापदण्ड २०८० अनुरूप नेपालका तर्फबाट बिजोर सीमापिलर पुनर्निर्माण गरिने छ ।’
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सीमापिलर मर्मत कार्यबाट दुवै देशका सीमास्तम्भलाई स्पष्ट पारिदिने भएकाले विवाद उत्पन्न नहुने बताए । सीमालाई यथास्थितिमा राख्नदेखि दुवैतर्फ सीमा सुरक्षाका लागिसमेत जीर्णोद्धार भएका सीमापिलर मर्मत आवश्यक रहेकोसमेत बताए ।
सशस्त्र प्रहरी बल नेपाल, ३५ नम्बर शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमबहादुर रावलले १८ मंसिरदेखि नेपालको भागमा परेका बिजोडा सीमापिलर निरन्तर मर्मत सम्भार गरिने बताए। एसपी रावलले कञ्चनपुरमा कुल ६६ सीमास्तम्भ पुनर्निर्माण, मर्मतसम्भार गरिने बताए ।
सशस्त्र प्रहरीका अनुसार रंगरोगन गर्नुपर्ने ३०, सामान्य मर्मत १६, मध्यमस्तरको मर्मत १७ र पूर्ण मर्मत ३ पिलर रहेकामा छन् । भारतीय पक्षले यसअघि नै जोडा सीमापिलर मर्मत गरिसकेको थियो ।
पुनर्वास नगरपालिका– ११ डोकेबजारदेखि पुनर्वास, बेलौरी, बेलडाँडी, शुक्लाफाँटा राष्ट्रिय, दोधारा–चाँदनी र भीमदत्त नगरपालिका ब्रह्मदेवसम्म मर्मत कार्य आगामी फागुनसम्मै सञ्चालन हुनेछ ।