
महेन्द्रनगर । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन कञ्चनपुरका पूर्व अध्यक्ष गौराज बहादुर लिम्बुले लालझाडीका इन्जिनियर राम प्रसाद अवस्थीमाथि कुटपिट घट्नालाई कर्मचारीका संगठनको सरोकार हुन पर्ने बताएका छन् ।
लालझाडी गाउँपालिका २ स्थित कञ्जमा सडक निर्माण निरीक्षणका क्रममा मंसिर ११ गते ठेकेदार सहित स्थानीयले इन्जिनियर अवस्थीलाई अभद्र व्यवहार गर्दै कुटपिट गरेका थिए ।

इन्जिनियर अवस्थीमाथि कुटपिट भएको डेढ सातासम्म कर्मचारीका पेशागत संगठनले मौनता साँधेका छन् । निजामती कर्मचारी ट्रेड युनियनका पूर्व अध्यक्ष लिम्बुले कर्मचारीमाथि कुटपिट भएकाले पेशागत हक अधिकारका लागि कर्मचारी संगठनको सरोकार हुनु पर्ने बताए ।
‘यो निकै दुःखद घट्ना हो, यसमा कर्मचारीका पेशागत संगठनको सरोकार हुनु पर्छ, यस घट्नाबारे बोल्नु पर्छ’ उनले भने ।
स्थानीय तह कर्मचारी संघ र इन्जिनियर एसोसिएसन बाहेक अन्य कर्मचारीका पेशागत संगठनले अहिलेसम्म विज्ञप्ति समेत निकाल्न सकेको छैन । कञ्चनपुरका काँग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा सहितका कर्मचारीको पेशागत संगठन छन् ।
स्थानीय तह कर्मचारी संघ र इन्जिनियर एसोसिएसनले पनि विज्ञप्ति निकालेर औपचारिक देखाएका छन् । कुटपिट गरिएका इन्जिनियर अवस्थी अहिलेसम्म कार्यालय जान पाएका छैनन् ।
गाउँपालिकामा इन्जिनियर अवस्थीलाई प्रवेश गर्न नदिने गरी स्थानीयलाई उनी विरुद्ध उक्साइएको छ । कुटपिटमा संलग्न ठेकेदार भीमसेन राना पक्राउ परेपछि इन्जिनियर अवस्थी विरुद्ध केही स्थानीयले नाराबाजी समेत गरेका छन् ।
ठेकेदार रानाले बोलाएपछि साइड पुगेका अवस्थीलाई लात्ता र मुक्का प्रहार गर्दै कुटपिट गरिएको थियो । प्रत्यक्षदर्शीका अनुसार झण्डै आधा घण्टासम्म कुटपिट गरिएको थियो । इन्जिनियर अवस्थीको कानको जाली फुटेको उनका एक सहकर्मीले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष निर्मल रानाको वडामा इन्जिनियर अवस्थीमाथि कुटपिट भएको थियो । ठेकेदारले सडक निर्माणका क्रममा प्रयोग गरेको कमसल गिट्टी उखेलेर अर्को हाल्न लगाएपछि उनलाई कुटपिट गरिएको थियो ।
लालझाडी गाउँपालिकाका अध्यक्ष रानाले इन्जिनियरलाई कुटपिट गरिनु दुःखद भएको बताए । उनले कञ्चनपुर निर्माण व्यवसायी संघसित छलफलका लागि महेन्द्रनगर आई रहेको बताए ।
