महेन्द्रनगर । साना किसान कृषि सहकारी संस्था लिमिटेड सुडाको २६ औं वार्षिक साधारण सभा अन्र्तगत भीनपा १६ स्थित मझगाउँ शाखाको साधारण सभा सम्पन्न भएको छ ।
भीमदत्त नगरपालिका १६ का वडा अध्यक्ष केशव सिह विष्टको प्रमुख आतिथ्य र सहकारीका अध्यक्ष खगेश्वर प्रसाद पाण्डेयको अध्यक्षतामा साधासण सभा गरिएको छ ।
साधारण सभामा रत्न कृषि सहकारी संस्थाका अध्यक्ष दशरथ धानुक र नव जीवन कृषि सहकारी संस्थाका अध्यक्ष अशोक सिह साउँद विशिष्ठ अतिथि थिए ।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष विष्टले साधारण सभाको ब्यानर वाचन गरी उद्घाटन गरे । उनले सहकारीले शाखा कार्यालय खोलेर यस क्षेत्रका वासिन्दालाई आर्थिक रुपमा सशक्त बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे ।
उनले सहकारी संस्थालाई किसानहरुको दुध किन्नका लागि डेरी सञ्चालन गर्न आग्रह गरुे । डेरी सञ्चालनबाट भीनपा १६ सहित ११,१२, १३,१४ लगायतका वडाका वासिन्दा लाभावान्ति हुने वडा अध्यक्ष विष्टको भनाई छ ।
कार्यक्रममा रत्न कृषि सहकारी संस्थाका अध्यक्ष धानुकले किसानको दुध बिक्रीका लागि डेरी सञ्चालन गर्न सहकारीलाई आग्रह गरे । उनले अहिले सबै सहकारी संस्थाहरु ऋण अशुली नहुने समस्याबाट पीडित भएको बताए ।
सहकारीका अध्यक्ष पाण्डेयले वार्षिक प्रगति र निमित्त मुख्य प्रबन्धक गीतादेबी भट्टले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । साधारण सभाबाट ती प्रतिवेदन सहित आगामी वर्षको कार्यक्रम पारित गरिएको छ ।
सहकारी संस्थाका उपाध्यक्ष रघुबरदत्त लेखकको स्वागत मन्तव्य राखे । कार्यक्रममा सहकारी संस्थाका निवर्तमान अध्यक्ष बिरेन्द्र बहादुर शाह, मझगाउँ शाखाका अध्यक्ष जयराज भट्ट लगायतका विभिन्न समूहका पदाधिकारी, शेयरधनी सहभागी भएका छन् ।
२०५५ मा दर्ता भएर सञ्चालन भएको साना किसान सहकारीमा हाल ३ सय ८६ समूह र दुई हजार २१ घर परिवार आवद्ध छन् ।
सहकारीले गत आर्थिक २०७९÷०८० मा ५ करोड ५५ लाख १७ हजार ऋण लगानी र ६ करोड ३४ लाख १२ हजार निक्षेप संकलन गरेको छ ।
मझगाउँपछि गयलनदी र सुन्दरपुरमा साधारण सभा सकिएपछि सुडास्थित कार्यालयमा साधारण सभा गरी समापन हुुने मझगाउँ शाखाका प्रमुख जय सिह धामीले जानकारी दिए ।