
महेन्द्रनगर । उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले मंगलबार बेलौरीमा २५ औँ इकाई गत साधारण सभा गरेको छ । सहकारीले २४ औं साधारणको कार्यक्रम अनुसार बेलौरीमा इकाईगत साधारण गरेको छ । महेन्द्रनगर केन्द्रीय कार्यालय भएको सहकारीका बेलौरी सहित सुदूरपश्चिममा २३ सेवा केन्द्र छन् ।
सुदूरपश्चिममा सबैभन्दा ठूलो सहकारीमा दर्ज उदयदेबका २३ हजार ५ सय ३८ शेयर सदस्य छन् । २०५६ मा सहकारी संस्था दर्ता गरी कारोबार सुरु गरिएको थियो ।

बेलौरीमा इकाईगत साधारण सभाको उद्घाटन मेयर पोतिलाल चौधरीले गरेका छन् । उनले सहकारी संस्थाले विपन्न वासिन्दाको आर्थिक जीवन स्तर सुधारमा महत्वपूर्ण योगदान पुगाएकोमा प्रशसा गर्दै स्थानीय सरकारले सक्दो साथ र सहयोग रहने बताए ।
कार्यक्रममा संस्थाका अध्यक्ष पूर्ण बहादुर चन्दले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । साधारण सभाको बन्द सत्रबाट अध्यक्ष सहितले उद्घाटन सत्रमा प्रस्तुत गरेको प्रतिवेदन छलफल गरी पारित गरिएका छन् ।
अध्यक्ष चन्दको प्रतिवेदनमा सहकारीका शेयर सदस्यमध्ये महिला सदस्यलाई सुत्केरी भत्ता, शेयर सदस्यको मृत्युपछि काज किरिया खर्च लगायत ऋणी शेयर सदस्यको अभिभावकको मृत्यु भएमा कर्जा मिनाहा, बीमा बापतको रकम शेयर सदस्यहरूमा कुनै जटिल प्रकृतिको रोग लागि उपचारमा सहयोग रकम हस्तान्तरण लगायतका कार्यक्रम समावेश गरिएका छन् ।
यसैगरी सहकारीले कृषि क्षेत्रका लागि मल, बिउ प्रशोधन केन्द्र, राइस मिल सञ्चालन गरी बजार मूल्य भन्दा १० प्रतिशत बढी मूल्यमा धान गहुँ खरिद गरिरहेको जानकारी दिइएको छ ।
सहकारीले आगामी दिनमा सेवा भएको ठाउँबाटै डिपो सञ्चालन गरी बजार मूल्य भन्दा बढी रकममा धान गहुँ लगायत खाद्यान्न खरिद गर्ने लक्ष्य लिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सहकारीको शेयर पूँजी २०८० असार मसान्तसम्म १८ करोड ८५ लाख ७४ हजार पुगेको छ । आगामी तीन वर्षमा यसलाई २५ करोड पु¥याउने लक्ष्य लिएको र हाल संस्थाले १ अर्ब ५३ करोड निक्षेप सङ्कलन गरी १ अर्ब ५० करोड लगानी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सहकारीले आर्थिक वर्ष २०७९÷८० मा ६ करोड ५५ लाख खुद नाफा आर्जन गरेको छ ।
आन्तरिक राजश्व कार्यालयले गत महिना राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ठ करदाताको रुपमा सहकारीलाई सम्मान गरेको थियो ।
सहकारीका अध्यक्ष चन्दको अध्यक्षतामा गरिएको कार्यक्रममा बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरा सिंह बिष्ट, इलाका प्रहरी कार्यालय बेलौरीका टेक बहादुर खडका, बेलौरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लक्ष्मीनारायण चौधरी, सहकारी संस्थाका उपाध्यक्ष नारा जोशी, संस्थाका कार्यकारी अधिकृत गणेश बहादुर चन्द लगायत शेयर सदस्य सहभागी भएका छन् ।
सहकारीका सञ्चालक समिति सदस्य चित्राङ्ग थापाले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए ।
